Sun. May 19th, 2024

पूर्व सांसद तथा राजदूत कमान सिंह लामाको कोरोनाका कारण निधन

काठमाडौं, २०७७ मंसिर २५ गते बिहीबार

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका लागि पूर्व राजदूत एवम् पूर्व सांसद कमानसिंह लामाको कोरोना संक्रमणका कारण ६९ वर्षको उमेरमा निधन भएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा लामाको गएराति निधन भएको पारीवारीक स्रोतले जनाएको छ । गत मंसिर १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि लामालाई अस्पताल भर्ना गरिएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापक लामा दुई पटक सांसद समेत हुनु भएको थियो ।
पूर्व राजदुत समेत भएकोले उपचारका लागि कोरीया जान लामाले बिशेष निवेदन दिनु भएको थियो । मृगौलाको क्यान्सरको उपचार गरिएका लामालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।

विक्रम संवत् २००८ साल फागुन ९ गते पिता चन्द्रसिंह र आमा मिश्रीमायाका कोखबाट जन्मिनु भएका लामा विक्रम संवत् २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपाबाट कम्युनिस्ट पार्टीको सदस्य बन्नु भएको थियो ।

लामा विक्रम संवत् २०३५ सालमा गठित अखिल नेपाल युवा संघका केन्द्रीय संस्थापक सदस्य हुनुहुन्थ्यो । विक्रम संवत् २०६३ सालमा पुनःस्थापित व्यवस्थापिका-संसद्को सदस्य बन्नु भएका लामाले दक्षिण कोरियाका राजदूत समेत रहेर आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो ।

लामा सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका लागि नेपाली राजदूत हुनुहुन्थ्यो ।

लामाका पत्नी, १ छोरा र ४ छोरी हुनुहुन्छ ।

लामाको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्री प्रदीप ज्ञवाली लगायतले गहिरो दुख व्यक्त गर्नुभएको छ ।

 

 

Facebook Comments