Sat. Jul 27th, 2024

कोरला नाकामा पूर्वाधार निर्माणमा जोड दिन माग

mustang_korala_naka

काठमाडौं, २०७७ मंसिर २४ गते बुधबार

मुस्ताङको कोरोला नाका चीनसँगको व्यापाका लागि सहज मानिन्छ । नेपाल र चीनको कोरला सिमाना २४ नम्बर पिल्लरमा नेपालतर्फबाट कच्चि सडक पुगेको छ । तर व्यावसायिकरुपमा नाकालाई अगाडी बढाउन पूर्वाधार निर्माणमा सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

दुई देशको व्यापारलाई व्यवस्थित बनाउन सीमा नाकामा भौतिक संरचना निर्माण मुख्य प्राथमिकतामा पर्छ । तर, चीनतर्फ आवश्यक सम्पूर्ण संरचना निर्माण भइसकेकाछन् भने नोपलतर्फ सीमा नका सञ्चालनका लागि आवश्यक संरचना बनाइएको छैन ।

उक्त सीमा नाकामा पूर्वाधार निर्माणका लागि विभिन्न समयमा सरकारी टोलीले अध्ययन गरेपनि हालसम्म कुनै संरचना निर्माण हुन सकेको छैन ।

गण्डकी प्रदेश सरकारको राष्ट्रिय गौरवको आयोजना भएपनि कोरला नाकामा पूर्वाधार निर्माण गर्न आवश्यक बजेट प्रदेश सरकारले मात्र जुटाउन नसक्ने गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले बताउनुभयो । “पूर्वाधार निर्माणमा जग्गा व्यवस्थापन भएपनि प्रदेश सरकारको लगानीले मात्र यो नाकामा पूर्वाधार निर्माण हुन सक्दैन ।” उहाँले भन्नुभयो। संघीय सरकारले भौतिक संरचना निर्माणमा बजेट छुट्याउने तयारी गरेको विष्टले जानकारी दिनुभयो ।

भौतिक संरचना निर्माणका लागि १ हजार ३४४ रोपनी जग्गा छुट्याइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताउनुभयो । जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रुपमा यातायातको पहुँच पुर्याउन ७ वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ । उपल्लो मुस्ताङ पुग्न कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ जाने पर्यटक र उपल्लो मुस्ताङबासीलाई विगत छ महिनादेखि सहज भएको छ ।

छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छ । कोरला नाका सञ्चालनमा दुई देशको सम्झौता भएपनि बेनी जोमसोम जोमसोमदेखि कोरला नाका सडक स्तरोन्नतीमा ठेकेदारको लापरबाही र सरकारको वेवास्ताका कारण समयमै सम्पन्न हुन नसकेको खवर कारोवार दैनिकले लेखेको छ ।

Facebook Comments