Sat. Jul 27th, 2024

सगरमाथा चीन र नेपालबीचको मितेरी शिखर: राष्ट्राध्यक्ष सी

xi jinping

फायल फोटो

काठमाडौं, २०७७ मंसिर २४ गते बुधबार

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सगरमाथा चीन र नेपालबीचको मितेरी शिखर भएको बताउनु भएको छ ।

नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई सम्बोध गर्दै सगरमाथाको पछिल्लो उचाई सार्वजनिक गर्ने कार्यक्रमलाई मंगलबार पठाउनु भएको सन्देशमा राष्ट्राध्यक्ष सीले सो विचार व्यक्त गर्नुभएको हो । सन्देशमा सीले भन्नु भएको छ, “सगरमाथा दुई देशबीच युगौँ युगदेखि मित्रताको महत्वपूर्ण प्रतीक भएको र दुई देशले विश्वको सर्वोच्च शिखरको रूपमा रहेको सगरमाथालाई चीन र नेपालबीचको सीमा शिखर र चीन नेपाल मितेरी शिखरको रूपमा मानेका छन् ।” साथै राष्ट्राध्यक्ष सीले नेपाली र चिनियाँ जनताको साझा सम्पत्तिको रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको संरक्षण गर्ने इच्छा लिएको बताउनु हुँदै चीनले नेपालसँग मिलेर सगरमाथाको पर्यावरणीय र वातावरणीय संरक्षण र वैज्ञानिक अध्ययन सहयोगलाई प्रवर्द्धन गर्दै जाने बताउनु भएको छ ।

चीन र नेपालले संयुक्तरूपमा सगरमाथाको पछिल्लो उचाइको घोषणा गर्ने गतवर्ष सहमति गरेको भन्दै उहाँले एक वर्षयता दुबै देशले विभिन्न कठिनाइ पार गरी ग्लोबल एलिभेसन डाटामा आधारित हिउँले ढाकिएको सगरमाथाको उचाइ निश्चित गरिएको पत्रमा उल्लेख गर्नु भएको छ ।   राष्ट्राध्यक्ष सीले राष्ट्रपति भण्डारीसँग नेपाल र चीन दुबै देशको तर्फबाट विश्वसामु सगरमाथाको पछिल्लो उचाइ ८८४८.८६ मिटर भएको घोषणा गर्न पाउँदा खुशी लागेको पनि बताउनु भएको छ ।

सगरमाथाको नयाँ उचाइको संयुक्तरूपमा घोषणा गर्ने समयको विशेष महत्व रहेको भन्दै राष्ट्राध्यक्ष सीले चीन-नेपाल सम्बन्धको दीगो विकासको उच्चस्तर पनि त्यसले पूर्णरूपमा प्रतिबिम्बित भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी चिनियाँ राष्ट्राध्यक्ष सीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सगरमाथा नेपाल-चीन परम्परागत मित्रताको दीर्घकालीन प्रतीक हो भन्दै हिउँले छोपिएको त्यसको नयाँ उचाइ घोषणा गर्दा आफूलाई निकै खुशी लागेको बताउनु भयो । राष्ट्रपति भण्डारीले आज दुई पक्षले सगरमाथाको उचाइको संयुक्तरूपमा घोषणा गर्नुको ऐतिहासिक अर्थ रहेको भन्दै  गतवर्ष राष्ट्रपति सीबाट भएको नेपालको राजकीय भ्रमणले नेपाल-चीन सम्बन्ध र द्वीपक्षीय सहयोगलाई नयाँ उचाइमा पुर्याएको बताउनु भयो । सो भ्रमणका अवसरमा गरिएका सहमतिलाई व्यवहारमा उतार्न दुई देशका सरकारले प्रयास गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले आर्थिक तथा सामाजिक विकास एवम् समृद्धिलाई संयुक्त रूपमा साकार तुल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो समारोहमा राष्ट्राध्यक्ष सीको सन्देश चिनियाँ विदेशमन्त्री वाङ्ग यी र राष्ट्रपति भण्डारीको सन्देश परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पढेर सुनाउनु भएको थियो ।

Facebook Comments