Sat. Jul 27th, 2024

सिन्दूर-पोतेसहित श्रीमानको काजकिरिया

- समाज परिवर्तनका लागि रेनुका नेपालको साहसिक निर्णय

काठमाडौं, २०७७ मंसिर २२ गते सोमबार

झापाको विर्तामोड नगरपालिका- ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर-पोतेसहित घर फर्केर काजकिरिया गर्नुभएको छ ।

उहाँका पति केशव नेपालको शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उहाँको मिर्गौलामा समस्या थपिएको थियो ।

बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उहाँको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सिन्दूर पोते सहित सेतो लुगामा घर फर्किनुभयो । हाल आफ्नै निवासमा पतिको किरिया बारिरहनु भएकी उहाँको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।

‘यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो’, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उहाँ भन्नुहुन्छ , ‘उहाँ (पति)ले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।’

रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिनुभयो ।

वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताउनु भयो ।  ‘सुरु कसैले गर्नै पर्छ, सलाम र सम्मान छ भाउजू’, शिवाकोटीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।  ‘श्रीमानले दिए जति सबै उहाँको मृत्युपछि त्यागी नै हाल्ने हो भने सँगै जोडिने थर, नानी बालबच्चा आदि नि त्याग्दै हिँड्न सम्भव छैन, त्यसैले उहाँको साहसलाई मान्नैपर्दछ’, सामाजिक सञ्जालमा समर्थन जनाउँदै लोकु चापागाईंले लेख्नु भएको छ भनि राससलाई उद्धत गर्दै कान्तिपुर अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments