Sat. May 11th, 2024

सिद्धबाबालाई अभियोग पुष्टि नभएको भन्दै सुनसरी जिल्ला अदालतबाट सफाइ

काठमाडौं, २०७७ मंसिर २२ गते सोमबार

सुनसरीको चतरास्थित रमानन्द शक्तिपीठका प्रमुख  सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सोमबार अभियोग पुष्टि नभएपछि सफाइ दिइएको छ ।

सुनसरी जिल्ला अदालत इनरुवाले एकवर्षदेखि पुर्पक्षका लागि कारागारमा रहेका सिद्धबाबालाई अभियोग पुष्टि नभएको भन्दै सफाइ दिएको हो । सुनसरी जिल्ला अदालतका एक नम्बर इजलासका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले नेपाल सरकारले लिएको अभियोग दावी बमोजिम प्रतिवादीलाई जवरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग पुष्टि नभएकाले आरोपित सफाइ हुने फैसला गर्नुभएको हो ।

सोमबार फैसला भएसँगै क्षेत्रीय कारागार झुम्कालाई रिहाइका लागि पत्र पठाएको सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकेसरी पोखरेलले जानकारी दिनुभयो । यता क्षेत्रीय कारागार झुम्काका निम्ति प्रमुख राजेन्द्रकुमार कार्कीले फैसला भएको जानकारी दिनुभयो ।

सिद्धबाबाविरुद्ध पीडित महिलाले २०७६ साल पुस १० गते जबरजस्ती करणी गरेको भन्दै मुद्दा दायर गर्नुभएको थियो । सुरुमा जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गर्दै उच्च अदालत विराटनगरले पुर्पक्षका लागि कारागारमा राख्नुपर्ने आदेश दिएको थियो ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय प्रेमप्रसाद कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालसले गिरीलाई पुर्पक्षमा राख्न आदेश दिएको थियो । २०७६ सालको असोजमा आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीमा पीडित महिलाले मुद्दा दर्ता गर्नुभएको थियो । त्यस मुद्दामा जिल्ला अदालत सुनसरीका तत्कालीन मुख्य न्यायाधीश राधकृष्ण उप्रेतीले तीन लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिनुभएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो । जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो। गोरखापत्र अनलाईनबाट

Facebook Comments