Thu. May 2nd, 2024

नेकपा सचिवालय बैठक सम्पन्न, बैठकबाटै समस्या निवारण गर्ने निर्णय

काठमाडौं, २०७७ मंसिर २० गते शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठक सम्पन्न भएको छ । करिब साढे तीन घण्टा बसेको बैठकले छलफल र बैठकबाटै पार्टीको आन्तरिक विवादको निवारण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भोलिको स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सचिवालयका सदस्यहरुले आफ्नो धारणा राख्ने काम भएको बताउनुभयो । आवश्यक पर्दा दुई अध्यक्षबीचको संवाद, सचिवालयको औपचारिक अनौपचारिक छलफल र स्थायी कमिटीको बैठकमा लगेर पार्टी संकटको निदान खोजिने उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार अध्यक्षद्वयको प्रस्तावबारेमा धारणा र सुझाव राख्ने काम भए पनि निस्कर्षमा पुगिनसकेको उहाँले बताउनुभयो । थप छलफल र बैठकबाटै समस्याको निदान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । दिउँसो साढे १ बजेबाट शुरु भएको बैठक साढे चार बजेसम्म चलेको थियो । स्थायी कमिटीको बैठक आइतबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने उहाँले जानकारी दिनुभयो । सो बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमा छलफल गरी निस्कर्षमा पुगिने बताउनुभयो ।

आज बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । सचिवालय बैठकमा छलफल भए पनि निस्कर्षमा पुग्न नसकिएपछि सबै विषय स्थायी कमिटी बैठकमा छलफल गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यसैबीच राससका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीलाई लान लागिएको हो । स्थायी कमिटीको बैठक यही मङ्सिर २१ गते दिउँसो १ बजेका लागि तय गरिएको छ ।

 नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सङ्कट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिनुभयो । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित प्रस्तावपत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ ।

 दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच अनौपचारिक छलफल पनि भइरहेको छ । गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्षनेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

 पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप-प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवाद बढेको छ ।

Facebook Comments