Fri. Apr 19th, 2024

रसुवागढी नाका जोड्ने सडकको ४१ किलोमिटर कालोपत्रे गरिने

काठमाडौं, २०७७ मंसिर १९ गते शुक्रबार

नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडकको यो वर्ष ४१ किलोमिटर कालोपत्रे हुने भएको छ। गल्छी मैलुङ सडक खण्डमा ४६ किलोमिटर कालोपत्रे गर्नुपर्नेमा चालु आर्थिक वर्ष २०७७/७८ मा ४१ किलोमिटर कालोपत्रे गर्न लागिएको नागरिक अनलाइनले लेखेको छ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका अनुसार पहिलो लेयर २१ किलोमिटर र दोस्रो लेयर १३ किलोमिटर भइसकेको छ। कालोपत्रे गर्नुपर्ने कुल सडकमध्ये १३ किलोमिटर दोस्रो लेयर अर्थात पूर्ण कालोपत्रे भइसकेको छ। यो खण्डमा अहिले दोस्रो लेयरको पिच गर्ने र ६ किलोमिटर सडकमा पिचको तयारी भइरहेको योजनाले जनाएको छ। बाँकी ५ किलोमिटर सडकको आउँदो आर्थिक वर्षमा कालोपत्रे गरिने छ।

सीआरआईका अनुसार पहिलो खण्डको स्तरोन्नतिको काम हालसम्म करिब ६३ प्रतिशत भएको छ। नाका जोड्ने छोटो दूरीको रूपमा रहेको यो सडकको तीन खण्डमा स्तरोन्नतिको काम हुने छ। तीनवटै खण्डको हिसाबले हालसम्म करिब ३४ प्रतिशत काम सकिएको छ। गल्छी मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ। गल्छी मैलुङ सडकको स्तरोन्नतिको काम आगामी पुससम्मका लागि थप गरिएको छ।

दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ। चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम गर्ने तयारी छ।

त्यसैगरी स्याफ्रु रसुवागढी सडक खण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकोमा अहिले काम अघि बढेको छैन। नेपाली पक्षले बिजुलीको पोल सार्ने कार्यलाई अघि बढाएको छ।

नाका जोड्ने सडक खण्डमा निर्वाध रूपमा काम गर्नका लागि स्थानीय तह र स्थानीय प्रशासनको सहयोगको अपेक्षा रहेका योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो। ‘अहिले हामीले कामलाई तिब्रता दिएका छौं,’ उहाँले भन्नुभयो, ‘सबैको सहयोग पाएमा तोकिएको समयमा नै काम सम्पन्न हुन्छ।’

सडक खण्डमा निर्माण हुने ३२ वटा पुलमध्ये १० वटाको अहिले निर्माण कार्य भइरहेको र ५ वटा पुल निर्माणका लागि सम्झौता भइसकेको उहाँले बताउनुभयो। पिपलटारदेखि ढुंगेसम्म अदालतको स्टे अडरका कारण काम अघि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो।

यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन।

मैलुङ¬–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

Facebook Comments