Mon. May 18th, 2026

युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम, शान्ति सम्झौताका लागि दबाब निरन्तर दिइने स् राष्ट्रपति ट्रम्प   

       

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार रुस र युक्रेनबीच तत्काल युद्धविराम हुने सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।

ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि तत्काल युद्धविरामको घोषणा गर्ने प्रयासमा कुनै प्रगति हुन सकेन ।

युक्रेन द्वन्द्वका कारण सैनिक तथा गैर–सैनिक गरी दशौँ हजार व्यक्तिको मृत्यु भएको छ र युक्रेनमा यसका कारण भौतिक संरचनामा समेत व्यापक विनाश भएको छ ।

भेटवार्तापछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा जारी एक सन्देशमा लेख्नुभएको छ, “अलास्कामा एक महान् र धेरै सफल दिन!”

“रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता निकै राम्रो भयो । युक्रेनका राष्ट्रपति जेलेन्स्की र नेटोका अति सम्मानित महासचिवलगायत विभिन्न युरोपेली नेताहरूसँग अबेर राति भएको फोन वार्ताल पनि सकारात्मक काम गरेको छ,” सन्देशमा भनिएको छ।

उहाँले भन्नुभयो, “भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो तरिका सबैले निर्धारण गरेका छन् । यसको अर्थ सीधै शान्ति सम्झौतामा जानु हो । यसले युद्धको अन्त्य गर्नेछ ।”

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी नेतासँग भेटवार्ताका लागि वासिङ्टन जाने बताउनुभएको छ ।

“यदि सबै कुरा सोचेजस्तो भएमा हामी राष्ट्रपति पुटिनसँग बैठक गर्नेछौं,” ट्रम्पले भन्नुभयो ।

उहाँले यो त्रिपक्षीय बैठक हुनेछ कि छैन भन्नेबारे केही बताउनुभएन ।

“सम्भवतः लाखौं मानिसको जीवन बचाइनेछ,”उहाँले भन्नुभयो ।

जेलेन्स्कीले यसअघि सामाजिक सञ्जालमा ट्रम्पको प्रस्तावको समर्थन गर्नुभएको थियो।

उहाँले लेख्नुभएको छ, “हामी युक्रेन, अमेरिका र रुसबीच त्रिपक्षीय बैठकका लागि राष्ट्रपति ट्रम्पको प्रस्तावको समर्थन गर्दछँैं । युक्रेनले प्रमुख मुद्दाहरू उच्च पदस्थ नेतास्तरीय बैठकमा छलफल गर्न सकिन्छ । यसको लागि त्रिपक्षीय ढाँचा उपयुक्त छ।” एएफपी

Facebook Comments