Mon. May 18th, 2026

टक्सारको संस्कृति र परम्परा जोगाउन दुई दिने मेला   

       

टक्सार (भोजपुर) । ‘भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गरौँ’ भन्ने नाराका साथ भोजपुरको ऐतिहासिकस्थल टक्सार बजारमा आजदेखि दुई दिने मेला सुरु भएको छ । मेलाको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले उद्घाटन गर्नुभएको हो ।

वि.सं. १८७२ मा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजारमा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि प्रत्येक वर्ष जस्तै यसवर्ष पनि श्रीकृष्ण जमाष्टमीको अवसर पारेर मेला आयोजना गरिएको नगरप्रमुख आलेले जानकारी दिनुभयो ।

भोजपुर नगरपालिका–१२ टक्सारसँगको समन्वयमा श्रीकृष्ण जन्माष्टमी मूल व्यवस्थापन समितिको आयोजनामा सुरु भएको मेला भदौ १ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष रेवत शाक्यले बताउनुभयो ।

भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक र व्यापारिक हिसाबले ऐतिहासिक भएकाले यहाँका सम्पदाको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको यशोधरा माविका प्रधानाध्यापक धु्रवराज रेग्मीले बताउनुभयो ।

धातु व्यवसायका लागि पनि यो प्रख्यात ठाउँ मानिने भन्दै उहाँले पाटनको स्वरूपमा रहेका यहाँका धार्मिक सम्पदा रहनुका साथै सोही अनुसार सहर विकास भएकाले यसलाई मिनी पाटनका रूपमा चिनिने उल्लेख गर्नुभयो । उहाँका अनुसार यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बालगायत दर्जनौँ धार्मिकस्थल छन् ।

सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रका रूपमा स्थापित टक्सार बजार पछिल्लो समय जीर्ण बन्दै गएको छ । यहाँका धार्मिक मठ, मन्दिर, विहार, चैत्य, गुम्बा र ठूलाठूला घर संरक्षणको पखाईमा रहेका स्थानीय प्रेमकुमार शाक्यले बताउनुभयो ।

भोजपुर–१२ सँगको समन्वय तथा जन्माष्टमी मूल व्यवस्थापन समितिको आयोजनामा आयोजित मेलाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने वडाध्यक्ष देवीप्रसाद कार्कीले बताउनुभयो । “टक्सार ऐतिहासिक तथा धार्मिकस्थल हो, यसको संरक्षण र सम्वर्द्धनसहित परम्परा जोगाउन जरुरी रहेकाले मेला आयोजना गरी प्रचारप्रसारमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो ।

मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, लाखे नाच प्रदर्शन, श्रीकृष्ण रथयात्रा, मनोरञ्जनका खेललगायत कार्यक्रम हुने स्थानीय विमल रणपहेलीले जानकारी दिनुभयो । टक्सारको परम्परा र इतिहासलाई कायम राख्न स्थानीय तहले पनि भूमिका निर्वाह गर्नुपर्ने भएकाले सोही अनुसार पहल थालिएको स्थानीय शरणकुमार श्रेष्ठले धारणा राख्नुभयो ।  रासस

Facebook Comments