Wed. May 8th, 2024

चिनियाँ खोप अन्तिम चरणमा, युद्धस्तरमा वितरण प्रणाली बनाइँदै

काठमाडौं, २०७७ मंसिर १७ गते बुधबार

चीनले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप भण्डारणको बलियो तयारी गरेको छ । दक्षिणी चीनको सन्चन् शहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको एक कुनामा सेता च्याम्बरबाहिर लगाइएको पर्दामा भित्रको तापक्रम देखाइएको छ ।

सुरक्षा कामदारहरु सर्जिकल गाउन, अनुहार ढाक्ने मास्क र रबरको पञ्जा लगाएर बाहिर पहरा दिदैछन् । उक्त च्याम्बरभित्र प्रवेश गर्ने जो कोहीले कम्तिमा दुई साताको क्वारेन्टिन पुरा गरेको हुनुपर्ने वा टाउकोदेखि पैताला ढाक्ने पहिरन लगाएको हुनुपर्ने ब्यवस्था गरिएको छ ।

गोरखापत्र अनलाईनका अनुसार ३५० वर्गमिटरमा फैलिएको तापक्रम नियन्त्रित कोठाहरुमा छिट्टै चीनले विकास गरेको खोपले भरिभराउ हुनेछ । चिनीयाँ औषधि नियामक निकायले खोपको स्वीकृति दिएपछि विमानस्थलको उक्त च्याम्बरमा खोप लगिनेछ । त्यहाँबाट जेटसम्म पुर्याउँदा तापक्रम नियन्त्रित उपकरण सहित विश्वका विभिन्न स्थानमा आपूर्ति गरिनेछ । चीनले तेस्रो चरणको ट्रायल गरेको राष्ट्रहरुमा सयौं लाख खोप आपूर्ति गर्ने तयारी गर्दैछ । चिनीयाँ नेतृत्वले खोपको सफलतापूर्बक परीक्षणपछि थुप्रै राष्ट्रमा आपूर्तिको प्रतिबद्धता समेत जनाएका छन् । खोप आपूर्ति गर्ने विश्वब्यापी अभियानले भएको सीएनएनले उल्लेख गरेको छ ।

चिनीयाँ परराष्ट्र नीतिलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय प्रभाव कायम गर्ने उपकरणको रुपमा चीनले खोपको प्रयोग गर्न सक्ने वाशिंगटनस्थित परराष्ट्र सम्बन्धमा विश्व स्वास्थ्य हेर्ने यान्झोंग हुआगं बताउनुहुन्छ । महामारीको सुरुवाती चरणमा चीनले मास्क र अन्य स्वास्थ्य उपकरण तथा सामग्री सहयोगमा उपलब्ध गराएर सद्भाव बनाउने प्रयास गरेको थियो । तर उक्त स्वास्थ्य सामग्रीको कमजोर गुणस्तरलाई लिएर पुनः चीनमाथि दोष लागेपछि वेइजिंगले कोरोनाभाइरसको अध्याय अन्त मोड्न खोजेको आरोप लागेको थियो । वेइजिंगको खोप कुटनीतिले पुनः एकपटक अवसर दिएको हुआंग बताउनुहुन्छ ।

चीनले हाल चारवटा कम्पनीको पाँचवटा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ । खोप परीक्षणको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण चरणमा प्रवेश गरेर खोप विकासकत्र्ताले नियामक निकायबाट अनुमति लिने अवस्थामा पुगेको छ । चीनले हालसम्म १६ राष्ट्रमा खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारे तेस्रो चरणको परीक्षण गरिरहेको छ । बदलामा चीनले सफलतापूर्बक परीक्षणपछि खोपमा छिटोभन्दा छिटो पहुँच हुने प्रतिबद्धता गरेको छ । वेइजिंगस्थित सिनोभ्याक बायोटेकले ब्राजिललाई चार करोड ६० लाख र टर्कीलाई पाँच करोड डोज उपलब्ध गराउने सम्झौता गरेको छ । इन्डोनेसियामा उत्पादनका लागि सिनोभ्याकले चार करोड डोज बराबरको कच्चा खोप उपलब्ध गराउने सम्झौता गरेको छ ।

Facebook Comments