Sat. Apr 27th, 2024

ठगुवा ठेकेदार विरुद्ध जनता सडकमा, मानव साङ्लो बनाएर विरोध प्रदर्शन

चरिकोट, २०७६ मंसिर गते मंगलबार

दोलखावासीले खाडीचौर-चरिकोट सडकको ठेकेदार विरुद्ध मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् । मंगलबार बिहान चरिकोटको सातदोबाटोमा जिल्लावासीले स्वस्फूर्त रूपमा खाडीचौर-चरिकोट सडकको मुडे-चरिकोट खण्डको निर्माणमा ढिलाई गर्ने ठेकेदार दिपक सापकोटाविरूद्ध मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन् । बिहान साढे ९ बजे मुखमा कालो मास्क लगाएर निस्किएका करिब ५ सय दोलखावासीले मानव साङ्लो बनाएर शंकरमाली निर्माण सेवाका ठेकेदार सापकोटाविरुद्ध प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी रमेश खतिवडाले बताउनु भयो ।

अन्नपूर्ण पोष्टका अनुसार करिब एकघण्टा मानव साङलो बनाएर कालोपत्रेसहितको सडक बनाउन नैतिक दबाव सिर्जना गरेको प्रदर्शनमा सहभागीहरुको भनाई छ । ठेकेदारले अब पनि काम सुरु नगरे रचनात्मक विरोधका थप कार्यक्रम आयोजन गरिने नागरिक अगुवा चिरञ्जीवि मास्केले बताउनु भयो । यसअघि गत शनिबार दोलखा जिल्लाका स्थानीयले सोही ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँसेर विरोध प्रदर्शन गरेका थिए। दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले चार वर्ष वितिसक्दा समेत पनि कालोपत्रे नगरेकोले ठेकेदारलाई नैतिक दबाव दिन दोलखा जिल्लाका स्थानीयले सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसी विरोध गरेका थिए ।

स्थानीयले स्वस्फूर्त खर्च संकलन गरेर काम नगर्ने ठेकेदारलाई सबैले चिनुन् र थप नैतिक दबाब परेर सडक निर्माणमा चासो राखुन् भन्ने उद्देश्यले ठेकेदार कम्पनीका मालिकको फोटो टाँस गरेर विरोध गरेका हुन् । कालो ब्यानरमा ुकालोपत्रे सहितको बाटो कहिले बन्छ रु चारवर्षसम्म बाटो किन नबनेको होरुु भनेर प्रश्न गरिएको नागरिक अगुवा मास्केले बताउनु भयो ।

सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी ३ जिल्लाका यात्रुले प्रयोग गर्ने खाडीचौर-चरिकोट सडकको बिभिन्न खण्डमा ठूला-ठूला खाल्डा तथा धुलाम्मे हुँदा दैनिक हजारौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्नु परिरहेको थियो । यात्रुको ज्यान जोखिममा पर्नुका साथै पर्यटन व्यवसाय ठप्प बनेको र अत्यावश्यक सामग्री आयातमा चरम कठिनाई भोग्नु परिरहेको थियो ।ठेकेदार सापकोटाले मुडे-चरिकोट सडकखण्डको ३० किलोमिटर सडक दुई लेनको कालोपत्रे सहित दुई वर्षमा सक्ने गरी २०७२ भदौमा सम्झौता गरेका थियो । सम्झौता अवधि नाघेर थप गरिएको म्याद नाघेको पनि डेढ वर्ष नाघिसक्दा समेत दुबै कामको प्रगति ६० प्रतिशत मात्र भएको छ ।

यसअघि थपेको म्यादमा समेत सडकको निर्माण कार्यले उल्लेख्य प्रगति गर्न नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले मुडे-चरिकोट सडकखण्डको ठेकेदार सकिल हेदर-शंकरमाली-सुनौला खिम्ति जेभीलाई दैनिक करिब चार लाखको दरले हर्जना तोकेको थियो । भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार आयोजनाले ढल तथा नालाको व्यवस्थापन सहित कालोपत्रे गर्ने योजना रहेको थियो ।

Facebook Comments