Fri. May 3rd, 2024

चक्रपथ दोस्रो खण्ड विस्तारका लागि रुख काट्ने काम धमाधम

काठमाडौं, २०७६ मंसिर २ गते सोमबार ।

चक्रपथ सुधार योजनाले रिङरोडको दोस्रो खण्डअर्न्तगत ‘साइट क्लियरेन्स’ का लागि धमाधम रुख काटिरहेको छ। सडक किनारामा पर्ने कंलकी–बालाजु क्षेत्रका चार सयवटा रुख कटान भइसकेको छ। उक्त सडक खण्डमा २ हजार ५७ वटा रुख काट्ने सरकारको योजना रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

चक्रपथको दोस्रो खण्ड ११ दशमलव ६ किमी छ। चीन सरकारको अनुदान सहयोगमा सडकको मध्यभागबाट २५/२५ मिटर सडक बन्न लागेको हो। २५/२५ मिटर बाहेक ६/६ मिटर ट्रयाक रोड नेपाल सरकारले बनाउने छ। योजनाअनुसार बाहिरी घेरामा हटाउनुपर्ने एक हजार ६७ र भित्री घेरामा नौ सय ९० वटा रुख काट्नैपर्ने पहिचान गरिएका छन्।

चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले काटिएको स्थानमा रुखविरुवा फेरि रोपिने दाबी गर्नुभयो। ‘यसलाई धेरै ठूलो इश्यु बनाउन जरुरी छैन। जंगलभित्र बाटो लगेको हैन,’ उहाँले भन्नुभयो, ‘सडकको राइट अफ वेमा रोपेका रुख हटाउन लागेको हो। पछि सडकको दुवैतिर ग्रिन बेल्ट राख्छौं।’ पुराना ढल्न लागेका रुख भएकाले पनि काट्न जरुरी रहेको दाबी उहाँले गर्नुभयो। ‘पछि रोप्ने कुनै रुख फल लाग्ने, कुनै फूल फुल्ने विशेष किसिमको हुनेछ,’ उहाँले भन्नुभयो।

Facebook Comments