Tue. Apr 30th, 2024

आज काग तिहार, यमपञ्चक सुरु

काठमाडौं, २०७७ कात्तिक २८ गते शुक्रबार

आजदेखि हिन्दूहरुको दोस्रो ठूलो धार्मिक पर्व तिहार प्रारम्भ हुँदैछ ।

पाँच दिन सम्म मनाईने भएकाले यमपञ्चक पनि भनिने यस पर्व अन्तर्गतको पहिलो दिन आज कागतिहार हो । धार्मीक मान्यताअनुसार यमराजको सन्देशवाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान गर्ने क्रम भने हिजैबाट शुरु भएको छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन धार्मिक विधि रहेको छ ।

तिहार पर्वलाई वैदिक कालमा भगवान विष्णुले खुसी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम ५ दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको र यी ५ दिन बलि राजाले आफ्नो राज्यभरी दीपावली गरी झकिझकाउ पारेको कथासँग जोडिएको छ । यसो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन् साथै यमराज पनि खुसी हुन्छन् भनी भगवान विष्णुले बलि राजालाई वरदान दिएको कथा प्रचलित छ ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकीदेखि नै सुरु भएको हो । यस्तै गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आज मनाइँदैछ । धनतेरसमा गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भएर बस्ने मान्यता छ ।

Facebook Comments