Thu. Apr 25th, 2024

दुई सय मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाडौं, २०७७ कात्तिक २७ गते बिहीबार

लगानी बोर्डले तीनवटा जलविद्युत् आयोजनाका लागि लगानी स्वीकृति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार साँझ बसेको लगानी बोर्डको ४५औँ बैठकले करिब दुई सय मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाका लागि करिब साढे ३८ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको हो ।

बोर्डका अनुसार निर्माण चरणमा रहेको ७७.५ मेगावाटको घुन्साखोला जलविद्युत् आयोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाका लागि लाई १० अर्ब ४३ करोड ६० लाख रुपियाँ लगानी स्वीकृत भएको छ । गोरखापत्र अनलाईनका अनुसार यी आयोजनाहरू सार्वजनिक निजी साझेदारीमा बन्न लागेका हुन् ।

बैठकले लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धिका लागि रणनीतिक योजना बनाउने पनि निर्णय पनि गरेको छ । साथै लगानीकर्ताको सहजताका लागि सञ्चालित एकल बिन्दु सेवा केन्द्रलाई स्वचालित बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीले परियोजना कार्यान्वयनमा हुने ढिलासुस्ती हटाउन प्रविधिमैत्री पद्धति अपनाउनुपर्ने सुझाव दिनुभएको थियो । प्रधानमन्त्री ओलीले विद्युत् उत्पादनका अतिरिक्त खपत विस्तारको योजना बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी प्रवद्र्धन तथा अन्य गतिविधिबारे बोर्डलाई जानकारी गराउनुभएको थियो ।

Facebook Comments