Thu. Apr 25th, 2024

रौतहटमा १७ वर्षीया युवतीको गोली हानी हत्या

काठमाडौं, २०७७ कात्तिक २७ गते बिहीबार

 रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

गएराति सुतिरहेको बेला अमृताको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ । गोलीको आवाज सुनेर आफू शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै अमृताको मृत्यु भएको आमा सिता देवीले बताउनु भयो ।

सुतिरहेको अवस्थामा विवाहित महिलाको माइतीघरमा हत्या भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । महिलाको पे्रम प्रसंगका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताउनु भयो ।

अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका सोहन भन्ने रुपेश साहसँग मागी बिहे भएको थियो । तर साउन महिनामा सम्बन्ध विच्छेद भएपछि अमृता माइतीघरमा बस्दै आउनु भएको थियो ।

गत वैशाख महिनामा अमृताका श्रीमान रुपेशमाथि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते हुनुभएका रुपेश तीन महिनाको उपचारपछि निको हुनुभएको थियो ।

त्यसपछि २०७७ साउन २५ गते रुपेश र अमृताबीच जिल्ला अदालत मलंगवाबाट सम्बन्ध विच्छेद भएको थियो । अनलाईन खवरबाट ।

Facebook Comments