लोप हुँदै गएको संस्कार र परम्पराप्रति हाम्रो दायित्व
- भवानी न्यौपाने ‘भावना’ को कलम
काठमाडौं, २०७७ कात्तिक २७ गते बिहीबार
हरिया सालका पातको टपरी गाँस्ने
कमेरो र रातो माटोले घर लिप्ने
आँगनभरी सयपत्री फूल रोप्ने
बाटोदेखि घरसम्म दीप बाल्ने
आफ्नै परम्परामा रमाउने
सुन्तली काकी शहर गएपछि
मौन मुद्रामा उदासिन छन् गाउँका घरहरु ।
हलो जोतेर अन्न फलाउने वीरमान
गाउँमा लोकभाखा र लोक भैलो भट्याउने जवान
लोक दोहोरीमा व्यस्त युवती र युवक
डम्फु, मादल र मुचुङगा बजाउने राम
सोरठी, टप्पामा रम्ने हर्कमान
सबै खाडी मुलुक पुगेपछि
निशब्द छन् चौतारिका पिपल र बरहरु ।।
मौलिकतालाई बेवास्ता गर्दै पश्चिमी सँस्कृति भित्रयाउने समूह पसेकोे छ
उदाङ्दो आधुनिकता सुम्सुम्याउनेहरु
आफ्नो धर्म र संस्कार छोड्दै
विक्रितिको राँको बल्दैछ दन्दन् ।।।
भिडमा उभिएर पनि एक्लाछन् उत्ताउला शहरहरु
त्यसैले मर्म बुझ्नु छ रोईरहेका परम्परा र संस्कारहरुको
अचेल पस्दैछन् विदेशी धर्मका जहरहरु ।।।।
-भवानी न्यौपाने ‘भावना’
समय नदी जस्तै बगिरहन्छ, यसलाई न कसैले रोक्न सक्छ, न यसले कसैलाई पर्खन्छ, न विभेद गर्छ, आफ्नो अविरल प्रवाहमा अडिग भएर सृष्टिचक्रदेखि एउटै गतिमा हुईँकिरहेछ समय । मानिस समयको क्षणिक पात्र हो यस धर्तीको । समयका हरेक सृङ्खलामा आफ्ना जीवनका अध्यायहरु पुरा गर्दै गईरहेको हुन्छ मानिस । समयले आफ्नो अडान, कर्तव्य र पहिचान कहिल्यै फेर्दैन । त्यसैले त समयको सबैलाई महत्व छ ।
प्राचिनकालदेखि समयसँगै हुर्किदै आएको मानव जीवन समय जस्तो अडानमा रहन नसक्दा कैयौं मान्यता र परम्परा लोप हुँदै गएको देखिन्छ । समय जस्तै धीर र कर्तव्यनिष्ट मानवहरु इतिहासका बलिया खम्बा हुन् । जस्ले आफ्नो कर्तव्य कहिले छाडेनन्, नदी जस्तै शालीन भएर आफ्नो जीवनरुपी मृदुल रथ हाँकिरहे र त वर्तमानमा समाजका रत्न बन्न सफल भए । पुर्खादेखि चलिआएका हाम्रा संस्कार, संस्कृति र परम्पराहरुको संरक्षण गर्नु हामी वर्तमान पुस्ताको कर्तव्य हो । अहिलेको बढ्दो आधुनिकता र सभ्यताको नाममा प्राचिन परम्परा तोड्दै पश्चिमेली संस्कृति फस्टाउँदै गईरहेको वर्तमान समयमा हाम्रा मौलिक परम्पराहरु लोप हुँदै जाँदा संस्कार, संस्कृति र धर्मप्रति चासो राख्ने नेपाली जनजीवनमा गहन आघात पर्दै गएको छ ।
सभ्यताको नाममा बढ्दो विकृतिले दिनप्रतिदिन जरा गाड्दै गईरहेको छ । समाजमा फैलिएको यो विकृतिप्रति यदि हामी सजक रहन सकेनौ भने भोलीका पुस्ताले हाम्रो संस्कार र परम्पराको निशाना समेत देख्न पाउने छैनन्, बरु नेपाली परम्परा र संस्कृति मेटिएर जानेछ । अहिलेका मानिसहरुको जीवनशैली समाजमा रहेर पनि एक्लो, असामाजिक, अव्यवहारिक, भावनात्मक संवेदनाको कमि, अनुशासनको कमि, नेपाली समाजमा असहज लाग्ने पोशाक, पहिरन आदि विकसित भैरहेको देख्दा अबको समाजले आफ्नो परम्परा, संस्कार त्याग्दै गएको दृश्य सबै सामु प्रष्ट नै छ ।
विभिन्न चाडबाडको मौलिकता हराउँदै जाँदा कैयौं नेपाली मन दुख्नु स्वाभाविक नै हो । प्राचिन बाजाहरु सबै लोप हुँदै गए । नेपाली मौलिक लोकभाखा, लोकगीत, लोक नृत्य, परम्परागत नेपाली पोशाक आजकल देखिन छाडे । तिहारमा पप अनि र्याप गाउँदै देउसी अनि भैलो खेलिन्छ । मानव जीवन अत्यन्त अव्यवहारिकपनको पात्र बन्दै गैरहेको छ । दुर्भाग्य नै भन्नुपर्छ समाजमा राम्रो काम गर्ने मानिसको मूल्याङ्कन नै हुँदैन । पैसा र पदको चाकडीमा सक्रिय जीवनहरुले नै सबै ठाउँमा अवसर छोप्दै गरेको देखिन्छ आजकल ।
समाजमा वृद्धवृद्धाहरुप्रतिको प्रेम, आदरभाव हराईरहेको छ । हाम्रै समाजका धेरै अभिभावक जसले जीवनभर सन्तानका निम्ति आँशु पिएर कर्म गरे हुर्काए, बढाए, पढाए आज उनीहरु नै वृद्धाश्रमको निरस कक्षमा विरक्तिएर मृत्यु पर्खिरहेका छन् । मान्यजनप्रतिको आदर हराईरहेको छ । मान्छेहरु आफ्नो नाता गोता, भाइबन्धु बिर्सिएर एक्लिदैं बजारमुखी भएका छन् । शहरहरुमा मान्छेको बढ्दो चाप छ तर सामाजिक भावना मेटिदै गएको देखिन्छ । त्यसैले मान्छे भएर पनि मानव संवेदनामा रित्ता छन् शहरहरु । परम्परागत भाषा र सम्बोधनका शब्दहरु विस्तारै विस्तारै लोप हुँदै गएका छन् । यस्तो चिन्ताजनक आजको अवस्थामा वर्तमान पुस्ता सचेत नहुने हो भने केही वर्षपछि हामी सबैबाट यी परम्परा, संस्कार, मौलिकता सदाका लागि मेटिने छन् । त्यसैले यसको संरक्षण गर्नतिर हामी एकजुट हुने बेला आएको छ ।
आउनुहोस्, हामी सबै मिलेर पश्चिमी संस्कृति र अनेकौं विकृतिको अन्त गरी आफ्नै जन्मभूमिको संस्कार र परम्परालाई संरक्षण कायम गरौं । मातृभूमिको गौरवशाली संस्कृतिलाई विश्वका कुना कुनासम्म पुर्याऔं । जुन संस्कृतिले हामीलाई विश्वमाझ परिचित गराओस् जुग जुगसम्म ।