Tue. May 26th, 2026

इरानका विदेशमन्त्री अब्बास र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

- राष्ट्रपति पुटिनद्वारा इरानमाथि अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा

       

काठमाण्डू, २०८२ असार ९ गते सोमबार । इरान र इजरायलबीचको द्वन्द्वमा अमेरिका पसेपछि निम्तिएको डरलाग्दो परिस्थितीलाई मध्यनजर गर्दै इरानका विदेशमन्त्री अब्बास अराघची रुसको राजधानी मस्को पुग्नु भएको छ ।

मस्को पुगे लगत्तै विदेशमन्त्री अब्बासले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज बिहान क्रेमलिनमा भेट गर्नुभएको छ । यो भेटघाट मध्यपूर्वमा तनाव बढेको समयमा भएको हो । इजरायलले जुन १३ मा इरानका आणविक स्थलहरूमा आक्रमण गरेको थियो । त्यसबेलादेखि इजरायल र इरानले एकअर्कामाथि आक्रमण गरिरहेका छन् ।

इजरायल र इरानबीचको यो द्वन्द्व हिजो आईतबार बिहान अमेरिकाले इरानका तीनवटा आणविक स्थलहरूमा आक्रमण गरेपछि झनै गम्भीर भएको छ । अमेरिकी हमलाको एक दिन पछि नै इरानी विदेशमन्त्री रुस पुग्नुभएको हो । रुसले इरानमाथि अमेरिकाको यो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।

पुटिन र अब्बासबीचको भेटवार्तालाई रुसको सरकारी टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सो भेटवार्तामा रुसी राष्ट्रपति पुटिनले अमेरिकाले इरानमाथि गरेको आक्रमण पूर्णतया अनावश्यक भएको र जसको कुनै आधार वा औचित्य नभएको बताउनुभयो । राष्ट्रपति पुटिनले इरानी विदेशमन्त्रीसँगको यो भेटलाई “जटिल मुद्दाहरूमा छलफल गर्ने र वर्तमान परिस्थितिबाट बाहिर निस्कन सँगै सोच्ने” अवसरको रूपमा वर्णन गर्नुभएको छ ।

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार, राष्ट्रपति पुटिनले रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै इजरायल–इरान द्वन्द्वमा रुसको अडान स्पष्ट रहेको बताउनुभयो । इरानको आणविक सुविधामा अमेरिकी आक्रमणपछि, रुसी विदेश मन्त्रालयले रुसले इरानका धेरै आणविक सुविधामा अमेरिकी आक्रमणको कडा निन्दा गर्दछ भनेको थियो । यो आक्रमण तुरुन्तै अन्त्य गर्न र स्थितिलाई शान्तिपूर्ण र कूटनीतिक बाटोमा ल्याउन प्रयासहरू तीव्र पार्न रुसले अपिल गरेको पनि बताईएको छ । भेटवार्तामा राष्ट्रपति पुटिनले इरानसँग रुसको लामो समयदेखि राम्रो र विश्वासिलो सम्बन्ध रहेको स्पष्ट पार्दै इरानी जनतालाई मद्दत गर्न प्रयास गरिरहेका पनि बताउनुभयो ।

सो अवसरमा इरानका विदेशमन्त्री अब्बासले रुससँग धेरै नजिकको मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धले रणनीतिक रुपम लिएको बताउनुभयो । इरानी विदेश मन्त्रीले इरानमाथि अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय नियम र मापदण्डको उल्लङ्घन भएको बताउनुभयो । वीवीसी

Facebook Comments