Sat. May 18th, 2024

प्रधानमन्त्री भोली संखुवासभाको किमाथांका जाने

- अरुण तेश्रो परियोजनाको स्थलगत अवलोकन समेत गर्ने कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओली फाईल फोटो

काठमाडौं, २०७७ कात्तिक २५ गते मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभा जिल्लाका विभिन्न स्थानको भ्रमणमा जाने हुनुभएको छ । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहनुु भएका प्रधानमन्त्री ओली भोली बुधबार संखुवासभा भ्रमणमा जान लाग्नु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । मिर्गौला प्रत्यारोपनपछि उहाँ पहिलोपटक उपत्यका बाहिरको भ्रमणमा जान लाग्नु भएको हो । पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओली संखुवासभा जान लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले मुख्य गरि सङ्खुवासभाको तीन स्थानको स्थलगत अवलोकन गर्नुहुने कार्यक्रम छ । किमाथाङ्कामा हालै निर्माण बोर्डर आउट पोष्ट (बिओपी), निर्माणधीन उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथांका सडकको अनुगमन तथा निरीक्षण गर्ने  र निर्माणाधीन अरुण तेश्रो परियोजनाको स्थलगत अवलोकन गर्नुहुने कार्य तालिका रहेको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाको ४० प्रतिशत काम सम्पन्न

गोरखापत्र अनलाईनका अनुसार नेपालको चर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको काम हाल ४० प्रतिशतभन्दा बढी काम सकिएको निर्माण कम्पनीले जनाएको छ । सो आयोजना निर्माणको २४ घण्टा नै लगातार काम भईरहेको कम्पनीको दावी छ । हाल सो आयोजनाका अरुण तेश्रोको ड्याम साईड र पावर हाउस क्षेत्र गरि दुई खण्डमा काम भईरहेको छ । हालै पानी डाईभर्सन गर्ने सुरुङको काम सम्पन्न भईसकेको सतलज जलविद्युत निगमका डिप्युटि जेनेरल मेनेजर रमेश चन्द्र सुलेरियाले जानकारी दिनुभयो । कुल ११ दशमलव ७ किलोमिटरको डाईभर्सन सुरुङ सकिएसँगै उक्त टनेल कङ्क्रिड बनाउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । यसपछि बाँधको काम सुरु हुने समेत उहाँले बताउनुभयो । अरुण तेश्रो सन २०२२ मा सम्पन्न गर्ने समयसीमा छ ।

नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको सो आयोजनाका लागि नेपालका दुई र भारतका पाँच बैङ्कले लगानीको प्रत्याभूति दिएका छन् । नेपालका हिमालयन र नबिल बैङ्कले १५ अर्ब ३६ करोड रुपियाँ ऋण लगानी गर्नेछन् भने भारतका स्टेट बैङ्क अफ इन्डिया, कनारा बैङ्क, पञ्जाब नेसनल बैङ्क, एक्जिम बैङ्क अफ इन्डिया र युनियन बैङ्कले ८५ अर्ब ९८ करोड रुपियाँ ऋण लगानी गर्न सहमति गरेकाले परियोजनाको निर्माण थप सुनिश्चित भएको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा बन्ने यो आयोजनाको प्रवर्धक भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन) ले स्वपुँजी लगानी गर्नेछ ।

अन्तिम लागत एक खर्ब ४४ अर्ब रुपियाँसम्म लाग्ने अनुमान गरिएको अरुण तेस्रोको कार्यान्वयनका लागि दुई देशका वित्त कम्पनीमार्फत सम्झौता भए पनि यो सहमतिले नेपाल तथा भारतको लगानी-सहकार्य थप उचाइमा पुगेको छ । सम्झौताले विदेशी लगानीकर्तालाई नेपालमा ठूला परियोजनामा लगानी गर्न उपयुक्त वातावरण छ भन्ने सन्देश पनि दिएको छ ।

अरुण तेस्रो सम्पन्न भएपछि नेपालको विद्युत् माग पूरा हुने मात्र छैन विद्युत् निर्यातका लागि नेपालको सक्षमता वृद्धि हुनेछ । सङ्खुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानमा ७० मिटर अग्लो बाँध बाँधेर विद्युत्गृहमा पुर्याईने पानी ९।५ मिटर व्यासको ११।७४ किलोमिटर लामो सुरुङमार्फत चिचिला गाउँपालिकाको दिदिङमा रहेको भूमिगत विद्युत्गृहमा पुर्याई नौ सय मेगावाट विद्युत् उत्पादन हुनेछ । परियोजना नेपालको सन्दर्भमा बहुउपयोगी हुने देखिएको छ ।

सो क्षेत्रमा बन्ने प्रवेशमार्ग, स्थानीयलाई रोजगारी, प्रभावित परिवारलाई शेयर तथा निश्चित परिणाममा निःशुल्क विद्युत् उपलब्ध गराइने भएकाले स्थानीयवासी अधिकतम लाभान्वित हुनेछन् । आयोजनाबाट नेपाललाई २१।९ प्रतिशत विद्युत् निःशुल्क उपलब्ध हुनेछ भने आयोजना अवधिभर नेपालले विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब रुपियाँ प्राप्त गर्नेछ ।

आयोजनाबाट प्रभावित स्थानीयलाई दुई चरणमा एक अर्ब ६० करोड रुपियाँको शेयर उपलब्ध हुनुका साथै हरेक प्रभावित परिवारले मासिक ३० युनिट बिजुली निःशुल्क पाउनेछन् । आयोजनाबाट २६९ घरधुरी प्रभावित हुनेमा हालसम्म २४ परिवारलाई पुनःस्थापना गरिएको छ । सहभागितामूलक जग्गा अधिग्रहण, वित्तीय सचेतना, पुनर्वास तथा पुनःस्थापना, सामाजिक सुरक्षाजस्ता नवीन अभ्यास अवलम्बन गरिएकाले आयोजनमा सामाजिक न्यायको पक्ष सन्तोषजनक देखिएको छ ।

त्रिदेशीय लिंक रोड

त्रिदेशीय लिंक रोडको रुपमा रहेको उत्तर दक्षिण कोशी राजमार्गको ट्रयाक ओपनको काम अझै सकिएको छैन । भोटखोला गाउँपालिकाको च्याम्ताङदेखि घुङ्गापा विचको चट्टान निर्माण कम्पनीले फुटाउन नसकेपछि सडकको काम रोकिएको थियो । १४ किलोमिटर दूरी रहेको उक्त सडकको ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा दिईए पनि अझै काम थालेका छैन ।

उक्त सडकको ट्रयाक खोल्नको लागि नेपाली सेनाले डीपीआर तयार गरिसकेको र अहिले विष्फोटक पदार्थ राख्ने ठाउँ निर्माण भईरहेको छ । विष्फोटक पदार्थ भण्डार गर्ने भवन र ब्यारेक निर्माण भईसकेपछि मात्र सेनाले काम थाल्ने बताउने गरेको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त भवन र ब्यारेक स्थानीय ठेकेदारले निर्माण गरेर हस्तान्तरण गरेपछि काम सुरु हुने बताईएको छ । श्रेष्ठका अनुसार नेपाली सेनाका सडक निर्माण जनशक्ति धरानसम्म आईपुगेको र तिहार पछि काम सुरु हुने नेपाली सेना श्रोतलाई उदृद्ध गर्दै श्रेष्ठले बताउनुभयो । यस्तै चीननसँगको सिमा क्षेत्र किमाथाङ्कामा १० महिना अघि बिओपीको स्थापना गरिएको थियो ।

सशस्त्र प्रहरी निरिक्षक चेतन बाह्रकोटीको नेतृत्वमा २६ जना जनशक्ति रहेको यस बिओपीले नेपाल चिन विचको सीमा रक्षा गर्दै आएका छन् । एक महिनाअघि पर्यटन मन्त्री योगेश भट्टराईले बिओपी भवनको सिलान्यास गर्नुभएको थियो । ६ करोड ६८ लाख २६ हजार रुपैयाँ लागतमा बन्ने उक्त भवनको निर्माण सुरु भएको छैन । सबैभन्दा बढी चासोका साथ हेरिएको अरुण तेश्रो परियोजनाको शिलान्यास २०७५ बैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदिसँगै एकसाथ गर्नुभएको थियो ।

Facebook Comments