Mon. May 20th, 2024

झापाका अग्रज समाजसेवी रेवतीरमण नेपालको कोरोना संक्रमणबाट निधन

विराटनगर, २०७७ कात्तिक २५ गते मंगलबार

झापाका अग्रज समाजसेवी तथा शिक्षाप्रेमी रेवतीरमण नेपालको कोरोना संक्रमणबाट निधन भएको छ ।

हल्दिवारी मा.वि.हल्दिवारी झापाका पूर्व शिक्षक तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष, नेपाल शिक्षक संघ झापाका जिल्ला सदस्य  नेपाललाई कात्तिक १५ गते सामान्य ज्वोरो आएपछि उपचारको लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी झापा का पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य नेपालको उपचारकै क्रममा सोमबार राती १०:४५ बजे निधन भएको हो ।

नेपालको आजै दिउँसो झापा हल्दिवारीस्थित देउनिया खोलामा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ । । नेपालको शवलाई अन्तिम संस्कार गर्नु पहिले देउनिया खोलामा उपस्थित भएका स्थानीयवासी, समाजसेवी, भद्रभलाद्मी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, शिक्षक, विद्यार्थी आदिले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नेपाल वंशज परिषद्का केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका नेपालको जन्म विक्रम सम्बत २००८ साल बैशाख ९ गते भोजपुरमा भएको हो । नेपालको निधनमा गहिरो दुख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत वहाँका सैयौं सुभचिन्तक तथा आफन्तहरुले शालिन, भद्र एवम् असल अभिभावक गुमाउनु पर्दा आफुहरु मर्माहत भएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य समेत रहिसक्नु भएका नेपाललाई झापा जिल्लामा शिक्षा तथा समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यत्तित्व मानिन्छ । नेपालका श्रीमति, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

यसैबीच नेपालको निधनमा  नेपाली काँग्रेस झापाले गहिरो दुःख व्यक्त गरेको छ । ‘रेवतीरमण नेपालको कोरोनाका कारण नोबेल मेडिकल कलेज बिराटनगरमा भएको असामयिक निधनको घटनाले नेपाली काँग्रेस झापा स्तब्ध र मर्माहत भएको’ नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाद्वारा मंगलबार जारी शोक बिज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालको निधनप्रति गहिरो शोक प्रकट गर्दै नेपाली काँग्रेस झापाले बुधबार जिल्लाभरिका सबै पार्टी कार्यालयहरु बन्द गर्ने र जिल्ला पार्टी कार्यालयमा मंगलबारबाटै तीन दिन पार्टीको झण्डा आधा झुकाइने शोक वक्तब्यमा उल्लेख छ ।

‘लोकतन्त्रको संस्थागत बिकास, लोकतान्त्रिक संस्कार र पहिचानका लागि अहोरात्र क्रियाशील रेवतीरमण नेपाल गहिरो अध्ययन, परिणाममुखी तार्किक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । भाषिक, शैक्षिक र सामाजिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान हाम्रा लागि सदा स्मरणीय रहनेछ’-सभापति थापाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

पितृ तथा पति वियोगको असीम पीडा र शोकको यस घडीमा शोकाकुल अवस्थामा रहनु भएकी वहाँकी श्रीमती वेदकुमारी नेपाल, छोरा बुहारीहरु सागरमणीं-अनिता, सुदर्शनं-आश्मा र सुजन-गोमा नेपाल तथा छोरीहरु गोमा सापकोटा र रञ्जु शिवाकोटी, चार नाति, चार नातिनी लगायत आफन्त र नातेदार लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै काँग्रेसले ब्रम्हलिन आत्माको चिर शान्तिको कमनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

फोटो हल्दिवारी डट कमबाट

Facebook Comments