Sat. May 4th, 2024

नेपाल आउँदै भारतीय विदेश सचिव

काठमाडौं, २०७७ कात्तिक २५ गते मंगलबार

सीमा विवादका कारण नेपाल र भारतबीच विगत एक वर्षदेखि कायम रहेको ‘औपचारिक संवादहीनता’ लाई अन्त्य गर्न भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएका छन् ।

भ्रमणको मिति भने तय नभइसकेको परराष्ट्र स्रोतको भनाइ छ । ‘भ्रमणका लागि केही अघिदेखि नै छलफल जारी थियो, तर, मिति नै टुंगो लागिसकेको छैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने ।

भारतीय सञ्चारमाध्यमहरुले भने श्रृंगलाको नेपाल भ्रमणको मिति नै तय भइसकेको जनाएका छन् । भारतीय अंग्रेजी दैनिक द हिन्दुस्तान टाइम्सले श्रृंगला आगामी मंसिर ११ मा दुई दिने नेपाल भ्रमणमा जाने उल्लेख गरेको छ । तर, नयाँदिल्लीस्थित नेपाली दूतावासले भने भ्रमणका सम्बन्धमा औपचारिक जानकारी नआएको बताएको छ । ‘हामीलाई अझैसम्म औपचारिक जानकारी आएको छैन,’ दूतावासका प्रवक्ता हरि ओडारीले कान्तिपुरसँग भने ।

भारतीय विदेश सचिव श्रृंगलाको आसन्न नेपाल भ्रमणलाई काठमाडौंसँगको ‘इन्गेजमेन्ट’ सघन बनाउँदै जाने दिल्लीको प्रयासका रुपमा हेरिएको छ । अघिल्लो साता मात्र भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेको तीन दिने भ्रमणका लागि काठमाडौं आएका थिए । त्यसैगरी कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले पनि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएका थिए । द हिन्दुस्तान टाइम्सले पनि श्रृंगलाको भ्रमणलाई एक वर्षयता अन्त्य खराब बन्न पुगेको दुई देशबीचको सम्बन्ध सुधारका लागि दिल्लीले प्रयास थालेको संकेत रुपमा उल्लेख गरेको छ ।

गत वर्ष पुसमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रृंगलाले पहिलो पटक आफ्नो निकट छिमेकी मुलुकको भ्रमण गर्न लागेका हुन् । अघिल्लो वर्ष कात्तिकमा भारतले कालापानीलगायतका क्षेत्र समेटेर नयाँ राजनीतिक नक्साप्रकाशन गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहँदै आएको छ । गत वैशाखमा भारतले नेपालको भूमि भएर पिथौरागढ–लिपुलेक सडकको उद्घाटन गरेपछि काठमाडौं–दिल्लीबीचको दूरी थप बढ्न गएको थियो ।

सम्बन्ध हार्दिक नभएकै कारण बंगलादेश र माल्दिभ्सलगायतका छिमेकी मुलुकको भ्रमण गरिसके पनि श्रृंगलाको नेपाल भ्रमण भने तय हुन सकिरहेको थिएन । जबकि नेपालले सीमालगायतका विषयमा छलफल गर्नका लागि विदेश सचिवस्तरीय बैठकका लागि लामो समयदेखि आग्रह गर्दै आएको थियो । नेपालको उक्त आग्रहलाई कहिले कोरोना भाइरसको महामारी त कहिले वातावरण अनुकूल नभएको भन्दै भारतले पन्छाउँदै आएको थियो ।

स्रोतका अनुसार श्रृंगलाको भ्रमणमा क्रममा सीमा विवाद, विगत लामो समयदेखि पञ्चेश्वर परियोजनालगायतका विषयमा छलफल हुने सम्भावना छ । श्रृंगलाले काठमाडौं बसाइका क्रममा अघिल्लो महिना मात्र परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेका भरतराज पौड्यालका अतिरिक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने छन् । कान्तिपुर अनलाईनबाट

Facebook Comments