Sat. Apr 27th, 2024

प्रहरी हत्या प्रकरण: तस्करको संलग्नता खुलासा

काठमाडौं, २०७७ कात्तिक ५ गते बुधबार

कैलालीको धनगढी नगरपालिका १२ स्थित अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गर्ने तस्कर समूहका सातजनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उनीहरूले असई र प्रहरी जवानको हत्या गरेको स्विकारेको कैलालीका प्रहरी उपरिक्षक दिलीप देउवाले बताउनु भएको छ । हत्यामा संलग्न दुईजना फरार छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० का पर्कु भनिने ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, चोर भनिने ३० वर्षीय सुरेश राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय निवास राना, २९ वर्षीय दलराम राना, वडा नम्बर ११ का २५ वर्षीय गोपाल राना छन्। उनीहरूमध्ये पाँचजनालाई सोमबार दिउँसो र दुईजनालाई सोही दिन राति पक्राउ गरिएको हो। उनीहरूविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।

कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले योजनाबद्ध ढंगमा तस्करहरूले हत्या गरेको अनुसन्धानबाट खुलेको बताउनु भएको छ । हत्याको अघिल्लो दिन भारतबाट तस्करी गरी ल्याएको सुर्तीजन्य पदार्थ असई विकले बरामद गरेका थिए। कात्तिक १ गते बिहानै तस्कर समूह अस्थायी प्रहरी पोस्टमा पुगेर असईलाई भेटी तस्करीका लागि सेटिङ मिलाउने कोसिस गरेको प्रहरीका एक उच्च अधिकारीले बताए। ‘हत्यामा संलग्न यही समूह तस्करीका लागि कुरा मिलाउन बिहान प्रहरी पोस्ट पुगेको थियो, असईले इन्कार गरिदिए’, उहाँले भन्नुभयो, ‘तस्करी गर्न छुट नपाएपछि हत्या गरेको खुलेको छ।’

यसरी गरियो हत्या

शनिबार राति ८ः३० बजे खाना खाएर असई विक प्रहरी जवान साउदलाई मोटरसाइकलमा पछाडि बसालेर गस्तीमा निस्कनु भयो ।एउटा घरमा मोटरसाइकल राखेर उहाँहरू धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाट पुग्नु भयो ।

यो ठाउँ अस्थायी पोस्टदेखि करिब ५ किलोमिटर दक्षिण पश्चिममा पर्छ। तस्करले सामान ओसार्ने बाटोनजिकै एउटा झ्याङमा असई र प्रहरी जवान बसिरहनु भयो । राति १०ः३० बजेतिर भारततर्फ लैजान गोरुगाडामा मटर राखेर तस्कर समूह आयो। असई र प्रहरी जवानले गोरुगाडालाई रोकेर समान नियन्त्रणमा लिन खोज्नु भयो । प्रहरी जवान गोरुगाडाको एकातर्फ र असई अर्कोतर्फ उभिनु भएको थियो । सुरुमा उनीहरूले प्रहरी जवान र असईलाई पैसा दिएर सामान छुटाउन कोसिस गरेको हत्यामा संलग्नको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक देउवाले बताउनु भयो।

सामान छोड्न नमानेपछि प्रहरी जवान साउदलाई तस्करले टाउकोमा लट्ठीले हिर्काए। साउद त्यहाँबाट अलि पर भाग्नु भयो । त्यसपछि असई विकमाथि पनि प्रहार गरियो। असईको फरुवाले हिर्काएर पहिले हत्या गरेको प्रहरी उपरीक्षक देउवाले बताउनुभयो। प्रहरी जवान साउद उम्केर भाग्नु भएको थियो तर तस्करले लखेट्दै गएर उहाँको पनि हत्या गरे।

अलगअलग ठाउँमा हत्या गरेपछि दुवैजनालाई उखुबारी छेउमा खाल्डोजस्तो ठाउँमा ल्याएर सुरुमा त्यहाँ जमिनमुनि गाड्ने प्रयास गरेको हत्यामा संलग्नले बयान दिएका छन्। जमिनमा गाड्दा थाहा पाउने आशंकाले उनीहरूले नदीको बीच भागमा खाल्डो खनेर गाड्ने सोच बनाए।

सुरुमा साउदलाई नदीको बीच भागमा खाल्डो खनी गाडे। त्यसपछि त्यसको करिब ५० मिटर दक्षिणतिर नदीको बीच भागमा असई विकलाई खाल्डो खनेर गाडेको उनीहरूले बयान दिएका छन्। नदीमा शव गाडेपछि उनीहरूले माटो खनेर ल्याएर रगत छोपेका थिए। ‘घटना ढाकछोप गर्न सकेसम्म कुनै सबुत प्रमाण बाँकी नरहून् भनेर धेरै प्रयास गरेको देखिन्छ’, देउवाले भन्नभयो । उनीहरूले दुई प्रहरीको हत्या गरेपछि गोरुगाडामा राखेर मटर भारत पु¥याएको बयान दिएका छन्।

हत्यामा संलग्न दुईजनाले नदीको बीचभागमा गाडेको स्थान देखाएपछि मंगलबार बिहान प्रहरी जवान साउदको शव फेला परेको प्रहरीले जनाएको छ। असई विकको शव यसअघि नै फेला परेको थियो। हत्यापछि तस्करले असई विकको पेस्तोल र मोबाइल नदीमा फालेका थिए। मंगलबार पेस्तोल पनि फेला परेको छ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तम सुवेदीले तस्करीको समान नियन्त्रणमा लिन खोज्दा तस्कर समूहले फरुवाले हानेर असई विक र प्रहरी जवान साउदको हत्या गरेको बताउनु भयो । असई विकले पेस्तोल झिक्ने मौका नपाउँदै आक्रमण भएको उहाँले बताउनु भयो । ‘पेस्तोल झिक्ने मौका नै पाएनन्।

तस्करहरूहरूले जे हातमा छ, त्यसैले एक्कासि प्रहार गरे’, सुवेदीले भने, ‘फरुवाले टाउकोमा र घाँटीमा हिर्काएर हत्या गरेको बुझिएको छ।’ असई विक र प्रहरी जवान साउदको शव घाटी पूरै काटिएको अवस्थामा फेला परेको थियो। नागरिक न्यूज अनलाईनबाट साभार

Facebook Comments