Sat. Apr 27th, 2024

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख काठमाडौंमा

काठमाडौं, २०७७ कात्तिक ५ गते बुधबार

भारतीय गुप्तचर विभाग (रअ) का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आउनु भएको छ । उहाँ बुधबार दिउसो चार्टर्ड विमानमा आइपुग्नु भएको हो । उहाँ ८ घन्टा काठमाडौंमा रही बेलुकी ९ बजे फर्कने खवर श्रोतलाई उल्लेख गर्दै कान्तिपुर अनलाईनले लेखेको छ ।

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले रअका प्रमुख काठमाडौं आएको बताए । ‘यो औपचारिक भ्रमण होइन, उहाँको व्यक्तिगत वा धार्मिक भ्रमण हुनसक्छ,’ उनले भने ।

भारतका सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि अर्को सुरक्षा संस्थाका प्रमुख गोयलको नेपाल भ्रमणको मुख्य एजेन्डा के छ भन्ने सार्वजनिक गरिएको छैन । गोयलको भ्रमण सम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनु भयो ।

गोयलको भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्रालयलाई जानकारी नभएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनु भयो । भारतीय दूतावासका एक उच्च अधिकारीले भने रअ प्रमुख काठमाडौं नआएको बताउनु भयो । ‘कोही अरु नै आएको हुनसक्छ, रअ प्रमुख आउनु भएको होइन,’ ती अधिकारीले भने ।

Facebook Comments