२०८३ आश्विन २१, बुधवार

अनशनरत डा. केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता समिति गठन

       

काठमाडौं, २०७७ असोज २१ गते बुधबार

प्रा.डा. गोविन्द केसी अनशन बसेको २४ दिनपछि सरकारले वार्ता समिति गठन गरेको छ । सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् । ‘सरकारले डा. केसीसँग वार्ता गरेर उहाँका मागको विषयमा छलफल गर्ने जिम्मेवारी दिएको छ’, सचिव मैनालीले अन्नपूर्णसँग कुरा गर्दै भने ।

 भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

२४ दिनदेखि अनशनरत केसीको जीवनरक्षामा सरकारले पहल नगरेको भन्दै बुधबार नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

डा. केसीको तर्फबाट वार्ता गर्न डा. क्षेत्रीको संयोजकत्वमा समिति गठन

२४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको तर्फबाट सरकारी टोलीसँग वार्ता गर्न चार सदस्यीय समिति गठन भएको छ ।

बुधबार केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल सदस्य रहेका छन् ।

सरकारले शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरे लगत्तै केसीको तर्फबाट वार्ता गर्न समिति गठन भएको हो । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments