Thu. Apr 10th, 2025 10:14:27

खाजाघर आगलागी, मृत्यु हुनेको सङ्ख्या चार जना पुग्यो   

काठमाण्डू, २०८१ फागुन ४ गते आइतबार । कमलपोखरीस्थित एक खाजाघरमा गत माघ २३ गते आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाण्डू कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाण्डूका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले राससलाई जानकारी दिनुभयो ।

राससका अनुसार   उहाँले भन्नुभयो, “आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।”

यसअघि उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाण्डू बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

Facebook Comments