Thu. Jan 16th, 2025

गाजायुद्धविराम: सहायता अवरोध हटाउनु अत्यावश्यक रहेको राष्ट्रसङ्घका प्रमुखको भनाइ   

संयुक्त राष्ट्रसङ्घ, अमेरिका, २०८१ माघ ३ गते बिहीबार ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा हालै भएको युद्धविरामले सहायता वितरणमा आइपर्ने अवरोध हटाउनु ‘अत्यावश्यक’ भएको बताउनुभएको छ ।

गुटेर्रेसले प्यालेस्टिनी भूभागको ‘अखण्डता’को सम्मान गर्न र शान्ति कायम गर्न सक्षम ‘एकीकृत’ प्यालेस्टिनी नेतृत्व सुनिश्चित गर्न दबाब दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो युद्धविरामले गाजाभरि सहायता वितरणमा महत्वपूर्ण सुरक्षा र राजनीतिक अवरोधहरू हटाउनु अत्यावश्यक छ । यसले तत्काल जीवन बचाउने मानवीय सहायतामा व्यापके वृद्धिका लागि सहयोग गर्न सम्भव हुनेछ।”

गुटेर्रेसले घातक द्वन्द्वमा युद्धविरामको आह्वानको नेतृत्व गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले वितरण गरेको सहयोगसहित युद्धग्रस्त क्षेत्रमा निर्बाध रूपमा सहायता प्रवाहको लागि विश्व समुदायको ध्यानाकर्षण गर्नुभएको छ ।

राष्ट्रसङ्घका मानवीय सहायता प्रमुखले युद्धविरामले ‘आशा र अवसरको क्षण’ प्रदान गरेको बताउनुभएको छ ।

“हामी कुनै भ्रममा पर्नु हुँदैन कि बाँचेकाहरूलाई सहयोग प्राप्त गर्न अझै पनि कति गाह्रो हुनेछ। यो भन्दा बढी हुन सक्दैन,’ मानवीय सहायता प्रमुख टम फ्लेचरले एक विज्ञप्तिमा भन्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले यो सम्झौतालाई ‘लामो समयदेखि पर्खाइमा रहेको’ बताएको छ ।

युनिसेफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युद्धले गाजाका बालबालिकामा भयानक क्षति पु¥याएको छ, जसमा कम्तीमा १४ हजार ५०० बालबालिकाको मृत्यु भएको छ, हजारौं घाइते भएका छन्, अनुमानित १७ हजार आफ्ना आमाबाबुबाट अलग्गिएका छन् र करिब १० लाख विस्थापित भएका छन् ।

गुटेर्रेसले पत्रकारहरूसँगको कुराकानीमा नयाँ सम्झौतालाई ‘महत्वपूर्ण पहिलो कदम’ भन्नुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले कब्जा गरिएको प्यालेस्टिनी भूभागको एकता, निरन्तरता र अखण्डताको संरक्षणसहित व्यापक लक्ष्यहासिल गर्न सबै प्रयासलाई परिचालन गर्नैपर्छ ।”

उहाँले भन्नुभयो, “स्थायी शान्ति र स्थिरता हासिल गर्न प्यालेस्टिनी एकता आवश्यक छ र एकीकृत प्यालेस्टिनी शासनलाई उच्च प्राथमिकताको रूपमा रहनुपर्छ भन्ने कुरामा म जोड दिन्छु।”

एएफपीका अनुसार गुटेर्रेसले द्वन्द्वमा रहेका सबै पक्षलाई प्यालेस्टिनी, इजरायली र व्यापक क्षेत्रको राम्रो भविष्य सुरक्षित गर्न, कब्जा अन्त्य गर्न र वार्ताद्वारा दुई–राज्य समाधान प्राप्त गर्न अवसरको सदुपयोग गर्न आह्वान गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बुधबार इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै गाजामा स्वास्थ्यको आवश्यकता अझै व्यापक रहेको बताउनुभयो । उहाँले ‘शान्ति नै उत्तम औषधि हो’ भन्नुभयो ।

टेड्रोस अधानोम गेब्रेयससले एक्समा जारी सन्देशमा भन्नुभएको छ, “गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता स्वागतयोग्य र उत्साहजनक छ। सबै पक्षले सम्झौताको सम्मान गर्नेछन् र दिगो शान्तिका लागि काम गर्नेछन्।”

Facebook Comments