क्वारेन्टाइन मापदण्डअनुसार नहुँदा कोरोना विस्तार भयो : देउवा
- 'कोरोनाविरुद्धको युद्धमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने घटना हुनु दुःखद्'
काठमाडौं, २०७७ भदौं ७ गते आईतबार
प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना समुदायस्तरमा विस्तार गर्न क्वारेन्टानइनले भूमिका खेलेको बताएका छन् । पछिल्लो समय व्यापक रूपमा कोरोना समुदायस्तरमा विस्तार हुनुमा क्वारेन्टाइनको योगदान रहेको भन्दै मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले यस्तो माग गरेका हुन् । ‘क्वारेन्टाइनहरू व्यवस्थित नहुँदा कोरोनाको विस्तारमा योगदान पुगेको घटनाहरू स्मरण गर्दै मापदण्डयुक्त क्वारेन्टाइनहरूको व्यवस्थापनमा अविलम्ब ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउँदछु,’ सभापति देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
देउवाले समयको सदुपयोग गरेर सबल ढंगले कोरोनाविरुद्ध योजना बनाएर अगाडि बढ्न पनि अपिल गरेका छन् । ‘लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्न म सरकारलाई अपिल गर्दछु । पीसीआर परिक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परिक्षण व्यापक रुपले पुर्याउन माग गर्दछु,’ देउवाको आग्रह छ, ‘कोभिड अस्पतालहरू निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु ।’
स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शी बनाउन पनि देउवाले आग्रह गरेका छन् । ‘खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
परिवार र आफ्नो पर्वाह नगरी कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकलाई निरुत्साहित पार्ने घटना भएकोप्रति देउवाले दुःख व्यक्त गरेका छन् । ‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ । स्वास्थ्यकर्मीहरू र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरूलाई सजग गराउन चाहन्छु,’ विज्ञप्तिमा लेखिएको छ, ‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो ।’
पछिल्लो समय मुलुकका विभिन्न भागमा कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना सार्वजनिक भएका थिए ।
विदेशमा समस्यामा परेर स्वदेश फर्कन चाहने नेपालीलाई उद्दार गर्न सरकारसँग देउवाले माग गरेका छन् । विदेशमा दुःखमा परेका नेपालीलाई उद्दार गर्न ढिलाई हुँदा उनीहरूको पीडामाथि झन् पीडा थपिएको उनको भनाइ छ । सबै राजनीतिक दल, तीनवटै तहका सरकार र नागरिकलाई कोरोनाविरुद्ध एकताबद्ध भएर लड्न पनि देउवाले आग्रह गरेका छन्। कान्तिपुर अनलाईनबाट