Tue. May 26th, 2026

नेपालको भूमाग फिर्ता ल्याउन धेरै गर्न बाँकी छः मन्त्री ज्ञवाली

       

काठमाडौं, २०७७ साउन १० गते शनिबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले सिङ्गो देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्छ भन्नुभयो ।  उहाँले भन्नुभयो, “मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ ।” वास्तविक नक्सा मात्र बनाएर मात्रै नहुने चर्चा गर्दै मन्त्री ज्ञवालीले जमिन फर्काउन भन्नजस्तो सजिलो नभएको जनाउनुभयो । उहाँले भन्नुभयो, “भन्न त सजिलो छ, नक्सा त जहिले छापे पनि हुन्थ्यो नि, तर प्रक्रियागत ढङ्गले अघि बढ्नुपर्छ सफलतामा पक्कै पुगिन्छ ।”

उहाँले वास्तविक नेपाली भूभागसहितको नक्सा जारी गर्न दह्रो मुटु भएको, राष्ट्रियताको लागि लड्ने एउटा नायक चाहिन्थ्यो, सोहीअनुसार जारी भएको दाबी गर्नुभयो । “कुर्सी जेसुकै होस् तर म राष्ट्रियताका लागि लड्छु भन्ने हिम्मत, कुर्सीबाट हट्न परे पनि आफ्नो भूमि छोड्दिन भन्ने हिम्मत चाहिन्थ्यो”, उहाँले भन्नुभयो । सिङ्गो देश एकताबद्ध भएकाले मात्रै नक्सा जारी सम्भाव भएको पनि उहाँको धारणा थियो ।

उहाँले नक्साअनुसारको संविधान संशोधन गरिएको क्षण यात्राको शुरुआत मात्रै भएको बताउनुभयो । “जमिनलाई वास्तविकरूपमा भोगचलनमा ल्याउन धेरै काम गर्न बाँकी छ”, उहाँले भन्नुभयो ।

मन्त्री ज्ञवालीले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा नेपाल दक्षिण एशियामै प्रभावकारी सफलता प्राप्त गरेको दाबी गर्नुभयो । “दक्षिण एशियामा कोरोनाविरुद्धको लडाइँमा नेपालले प्रभावकारी सफलता प्राप्त गरेको छ”, उहाँले भन्नुभयो ।

उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल र मदन भण्डारी दुई व्यक्तिको पार्टी स्थापना र प्रतिपादित सिद्धान्त जबजको बाटोमा नै अगाडि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादको भविष्य उज्ज्वल छ भन्ने मार्गदर्शक नै हाम्रो पनि मार्गदर्शक हो ।” पार्टी एकता जेठ ३ गते नै रोज्नुको कारण महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले एकता भूलचुकमा नभएको दाबी गर्नुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read