Fri. Nov 22nd, 2024

भानुभक्तको जीवनमा घाँसीको तथ्यहीन प्रसङ्ग

काठमाडौं, २०७७ असार २९ गते सोमबार

भानुभक्त आचार्यको जीवनमा गाँसिएको घाँसीको प्रसङ्ग भानुभक्तका दुई श्लोक कविताबाट प्रेरित भएका मोतीराम भट्टको सुन्दर कल्पनाको परिणाम थियो । पछि बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ता उत्तरवर्ती विशिष्ट स्रष्टाहरूले अझ यस सन्दर्भलाई सिँगारपटार गरिदिए । त्यसैले यस प्रसङ्गले पनि नेपाली साहित्यिक समाजमा विश्वास पाइसकेको छ । अब घाँसीका सालिक बन्नेदेखि लिएर स्रष्टाहरूका निबन्ध र कवितासम्ममा पनि भानुभक्तको घाँसी दरोसँग स्थापित भइसकेको पाइन्छ । त्यसैले ती बेहोरा स्वीकार गर्नैपर्छ; मानौँ घाँसी पनि साक्षात् थिए ।

नरेन्द्रराज प्रसाई

मोतीराममा कल्पनालाई यथार्थ तुल्याउन सक्ने कलात्मक शैली पनि थियो । यस बेहोरालाई घाँसीको कथात्मक परिकल्पनाले पनि सुन्दर बनाइदियो । वास्तवमा भानुभक्तले घाँसीबाट प्रेरणा लिएको प्रसङ्गलाई मोतीराम भट्टले भानुभक्तको जीवनचरित्र लेख्दा कथा बनाएर रोचक ढङ्गमा प्रस्तुत गरे-

‘विक्रमी सम्वत् १८९१ सालमा भानुभक्त एक् दिन् हावा खान भनी यसै डुल्दा डुल्दा एक नदीका तीरमा पुगेछन् । पहाड्को खोच् तहाँ परेको हुनाले र ई भानुभक्त पनि घाम्मा हिँडेर तहाँ शीतल् जग्गामा पुगेका हुनाले नदीका किनारमा एक ठूलो ढुंगो रहेछ; तेस्माथि पल्टेछन् । हिंड्दा साह«ै थकाइ लागेको हुनाले, मलयाचलको वायुसमान हावा मन्द मन्द चलेको हुनाले, मधुर मधुर मनहरा चराका बोली सुन्नाले बडो आनन्द पाई तहीं भानुभक्तका आँखा लागेछन् । अन्दाजी दुई घडी सुतेपछि फेरि निद्राबाट जागा भै बस्ता ती सुतेकै ढुंगानेर एक घाँसी बराबर घाँस् काट्न लागेको रहेछ र भानुभक्तले तेस् घाँसीलाई ‘कहाँको होस् ?’ भनी सोधे र घाँसीले भन्यो ‘नानी बाजे, मेरो घर ञहाँबाट दुई कोस्मा छ । म घाँसी हूँ; भर जन्म यसै घास्मा बिते । यसरी घास् काटी डोकोमा हाली गाउँतिर लैजान्छु र दुई आना तीन आना जति मिल्छ उतिमा यो घास्को भारी बेची रातिमा घर जान्छु ।’

मोतीराम भट्टले घाँसीको सन्दर्भलाई कथानक विषयवस्तु बनाए र भानुभक्तमा जोडे । यही बेहोरालाई भानुभक्तको छातीमा अटल भएर बसेको पनि देखाइयो । यसरी भानुभक्तले घाँसीलाई प्रेरणाको स्रोत मानेर आफ्नो साहित्यिक यात्रालाई अगाडि पुर्याएका थिए भन्ने मान्यता मोतीरामबाटै प्रस्तुत भएको हो ।

मोतीराम स्वयम्ले ‘आदिकवि’ भनेर स्थापित गरेका आफ्ना जीवनीनायक भानुभक्तमा कृतज्ञता नैसर्गिक गुण थियो भन्नका लागि पनि मोतीरामले प्रमाण पेस गर्नु थियो । त्यसैले आदिकवि भानुभक्त आफुलाई सघाउने साना र ठूला जसलाई पनि जस दिन्थे भनेर मोतीरामले भानुभक्तको सोचको उचाइलाई बढाउन थाले । साथै भानुभक्त अरूबाट असल कुराको प्रेरणा लिन्थे भन्ने बेहोरा पनि घाँसीमार्पmत पेस गर्नु मोतीरामको लक्ष्य थियो । त्यसैले भानुभक्तले घाँसीको प्रेरणामा कविता लेखे भनेर भानुभक्तको जीवनी लेख्ने क्रममा भानुभक्तकै कविता पनि साथै प्रस्तुत गरी मोतीरामले उद्घोष गरेका थिए । भानुभक्तका नाउँमा यो कविता नै पनि मोतीराम आफुले लेखेर प्रस्तुत गरिदिएका हुन् कि भनेर एकथरि लेखकहरूले लेख्तै आएका पनि छन् :

भर्जन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो ।।

वास्तवमा मोतीरामले लेखेको भानुभक्त र घाँसी संवादको बेहोरालाई अघि सारेर भन्नुपर्दा यो कथ्य केवल मिथकीय मात्र हो र भानुभक्तका जीवनमा गाँसिएको एउटा अटल र रमाइलो सृजना हो । यति हुँदाहुँदै पनि मोतीरामदेखि अहिलेसम्मका प्रायः धेरै लेखकहरूले वास्तविकता नै नबुझी केवल घाँसीलाई घाँस बेच्नेकै रूपमा जीवन्त पार्ने प्रयास गरिरहेका छन् । वास्तवमा मोतीरामले चाहिँ भानुभक्तको कविताको भावलाई नाटकीय ढङ्गबाट वास्तविक स्वरूप दिन खोजेका थिए । घाँसीबारेको प्रसङ्ग मोतीरामले नउठाएको भए पनि हुन्थ्यो; किनभने यही एउटा बेहोराले गर्दा भानुभक्तीय प्रसङ्गका केही दफामा मोतीरामप्रतिको विश्वासमा विष्णुमायाका पालादेखि नै कटौती पनि आयो । अनि यही आडमा टेकेर मोतीरामपछिका भानुभक्तप्रेमीहरूले मोतीरामले भानुभक्तबारे लेखेका अन्य कुराहरूको पनि खण्डनमण्डन गर्न थाले । साथै कति ठाउँमा मोतीरामले घाँसीले ठड्याएझैँ गरेर भानुभक्तका जायज र नाजायज अरू थप कथासम्म पनि ल्याएर राख्न थालियो । तर नरनाथ आचार्यले चाहिँ घाँसीको कथालाई असत्य प्रसङ्ग नभनी तनहुँको स्थानीयतालाई लिई बेग्लै ढङ्गले घाँसीको गाउँले व्यक्तित्वको बयान गरेको पाइन्छ । उनले भानुभक्त ससुराली मानुङ जाँदा बाटाका कर्लुङखोलाको घटनाको रूप दिई केही गद्यमा र केही पद्यमा बयान गरेका छन् । पछिपछि केहीले तनहुँ कर्लुङबेसीको बुल्दीखोलाको किनारका चामुनारायण पन्थ नै घाँसी हुन् भनेका पनि छन् । भानुभक्तको जीवनी लेख्ने क्रममा भानुभक्तकै कविताको आड लिई मोतीरामले भानुभक्तको ‘लोक्को गरूँ हित्’ भनी रामायण लेख्ने प्रेरणास्रोतका रूपमा कथाको पारामा घाँसी उभ्याए; तर यो बेहोरा तत्कालीन नेपाली समाजमा मेल खाँदैन ।

मोतीरामपछिका भानुभक्तका जीवनीलेखकहरूबाट जुन विषयको खण्डन हुनुपथ्र्यो त्यसबारे दृष्टि दिएको देखिए पनि पूरै चाहिँ उति खण्डन गरेको भने देखिएन । त्यस बेला नेपालमा घाँस बेच्ने प्रचलन थिएन भन्ने बेहोरा टुकराज, पद्मराज मिश्रले पहिलोचोटि (शङ्का गरेर) आफ्नो मत दिएका थिए । त्यसपछि बाबुराम आचार्यले पनि मोतीरामको घाँसी प्रसङ्गको खण्डन गरे । अनि त्यो लहरो तानिदै पनि आयो । तर भानुभक्तका नातेदार लेखकहरूले चाहिं यस बेहोरालाई खण्डन गर्नुको साटो पूर्ण रूपमा समर्थन गरेर व्याख्या गरिरहेको देखियो । यसै सन्दर्भमा प्रायः भानुभक्तप्रेमीका यसउपर देखिने गुनासाका स्वरहरू पनि रहिरहेका नै छन् ।

एक थरी भन्छन्-भानुभक्तीय समयमा तनहुँको बसोबास जङ्गलैजङ्गल र घाँसैघाँसको माझमा थियो । त्यो ठाउँ कुन सहर बजार थियो र घाँस बेच्ने प्रसङ्ग ल्याइयो ? यस बेहोरालाई विष्णुमायादेखि पं.नरनाथ आचार्यसम्मले खण्डन नै गर्नुपथ्र्यो भन्ने विचार पनि प्राज्ञजगत्मा देखिन्छ । वास्तवमा त्यति बेला वनमा र खेतबारीमा घाँस प्रशस्त पाइन्थ्यो; कतै त झारपात र घाँस खेताला लगाएर फाल्नुपथ्र्यो भन्ने पनि भनाइ छ । त्यस बेला नेपालका कुनै पनि गाउँ या सहरमा दुईतीन आना नगदमा घाँस बिक्री हुने सवाल नै थिएन । वाराणसीमा मोतीरामको निकै बसउठ थियो । सायद त्यहाँ घाँसको व्यापार हुने पनि गथ्र्यो होला । वाराणसीमा घाँसको किनबेच भइआएको देख्दै आएका कल्पनाशील मोतीरामले तनहुँमा पनि घाँसको खरिदबिक्री गर्ने घाँसी प्रसङ्ग लेखिदिए । मोतीरामले तनहुँ नटेकी, नसुनी र नबुझी वाराणसीको चालचलनका आधारमा यस कथाको बुनोट गरेको हो कि भन्न सकिन्छ ।

घाँसी अथवा भनौँ चामुनारायण पन्थको प्रसङ्गका केही अपवाद ठीक भए पनि वा बेठीक भए पनि भानुभक्तद्वारा लेखिएको भनिएको त्यो श्लोक नेपाली साहित्यिक जगत्मा सम्मानित नै रहेको छ । तर मोतीरामले भानुभक्तका कविताको आड लिई बयान गरेको घाँसीको कथाको स्थानीयकरण गर्ने नगर्ने पक्षविपक्षमा अनेक समालोचक आआफ्ना ढङ्गले उभिएका पनि छन् । घाँसी प्रसङ्गलाई ठीक छ भनेर त्यसैलाई मान्यता दिनेहरूको लर्को पनि छ । यति हुँदाहुँदै पनि भानुभक्त घाँसी संवादबारे बनेको यो सुन्दर कल्पना अब नेपाली जनमानसको चिरसञ्चित पुँजी बनिसकेको देखिन्छ ।

प्रा.डा.शर्वराज आचार्यको ‘भानुभक्तीय खोज (२०६९)’ भन्ने किताबमा नयाँ दृष्टिकोण पनि देखियो । उनले त्यस किताबको चार परिच्छेदमा घाँसीकुवा तनहुँमा र लमजुङ कास्कीतिर पनि रहेको बताएका छन् । आफ्नै या अरूका भैँसी पाल्नेले जङ्गलमा घाँस काट्न जाँदाआउँदा पानी खाने घाँसीकुवा थिए भनेर उनले लेखेका छन् । तर मोतीरामका घाँसीपात्र र अरूले ठानेका घाँसी पनि वस्तुगत नभई किंवदन्ती र भावनाकै लहर हुन् भनी शर्वराज आचार्यले आफ्नो मत दिएका छन् । भानुभक्तको कविता पनि र घाँसीकुवा पनि ठीकै होला । तर मोतीरामले लेखेका कवि भानुभक्तका जीवनचरित्रको एक रोचक तर कमजोर प्रसङ्ग यो घाँसीपात्रचाहिँ हुँदै हो ।

Facebook Comments