Fri. Apr 26th, 2024

आदिकवि भानुभक्त आचार्यको आज २०७ औं जन्मजयन्ती

काठमाडौं, २०७७ असार २९ गते सोमबार

प्राचिन धार्मिक ग्रन्थ रामायणका नेपाली अनुवादक तथा नेपाली साहित्यका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ ।

भानुभक्त आचार्यको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा प्राप्त गर्नुृभएका उहाँले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाउनु भएको थियो भन्ने भनाइ छ ।

भानुभक्त नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुनुहुन्छ । उहाँ वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ । मोतिराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । भानुभक्तले प्रश्नोत्तर(विक्रम सम्वतl१९१०) ,भक्तमाला(विक्रम सम्वत१९१०) ,वधूशिक्षा (विक्रम सम्वत१९१९) लगायतका कृतिहरू लेख्नु भएको छ । उहाँका पाण्डुलिपिहरूलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि भानुभक्त नेपाली साहित्यमा चिनिनु भएको हो ।

एक पटक एक जना बटुवाले भानुभक्तको परिचय माग्दा उहाँले कवितामा नै जवाफ दिनु भएको थियो-

पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।

भानुजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, आसाम, देहरादुन लगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ ।

रामायण १.बाल काण्ड

 

एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनि

ब्रम्ह्ना ताहि थिया पर्या चरणमा खुसि गराया पनि ।

क्या सोध्छौ तिमी सोध भन्छु म भनि मर्जि भयेथ्यो जसै

ब्रम्ह्नाको करुणा बुझेर ऋषिले बिन्ति गर्या यो तसै ।

हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रयाछु कछु

बाकि छइन केही तथापि सुन्न इच्छ्या म यो गर्द्छु ।

आउ लाज भयो कलि बखतमा प्राणी दुराचार भइ

गर्न्याछन सब पाप् अनेक तरहका निज्का मतिमा गइ ।

साच्चो कुरा गरोइनन् अरुकोइ गर्नन् त निन्दा पनि

अर्कको धन खानलाई अभिलाष् गर्नन् त दियो भनि ।

कोहि जन् परस्त्रिमा रतहुनन् कोही त हिम्सा महा

देहलाई त आत्मा जानी रहलान् नास्तिक पसु झहि तहाँ । ।

घाँसीको बारेमा भानुभक्तको अभिव्यक्ति

भर् जन्म घाँस तिर मन् दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो ।

मेरा ईनार न त सत्तल पाटिकै छन्

जे धन चीजहरु छन् घर भित्रनै छन् ।

त्यस घाँसीले कसरी आज दिए छ अर्ति

धिक्कार हो म कन बस्नु न राखि किर्ति ।

Facebook Comments