Tue. Mar 18th, 2025 10:04:38

चीनको दक्षिणी भागमा विनाशकारी वर्षा जारी

काठमाडौं, २०७७ असार २८ गते आईतबार

लगातार विनाशकारी वर्षा जारी रहेकाले चीनको दक्षिणी भागका धेरै प्रान्तमा पानीको सतह ठूलो मात्रामा माथि उठेर बाढी नियन्त्रणको परिस्थिति ज्यादै गम्भीर बन्दै गएको छ। गत ११ तारिख सबेरै ६ बजेदेखि १२ तारिख मध्यरात १२ बजेसम्म अघिपछि गरी ४ वटा जल स्टेशनको पानी सतह गत १९९८ को सबैभन्दा उच्च ऐतिहासिक रेकर्डभन्दा माथि पुगेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार गत ११ तारिख बेलुकी ५ बजेसम्म वर्षा र बाढी प्रकोपबाट च्याङ सी प्रान्तको पो याङ ताल बग्ने क्षेत्रका ५२ लाख १० हजारभन्दा बढी वासिन्दा प्रभावित भएका र तीमध्येका ४ लाख ३० हजारभन्दा बढी मानिसलाई आपतकालीन रुपमा अन्यत्र स्थानान्तरण गरिएको छ। यसबाहेक, ४ लाख ५० हजार हेक्टर कृषि जन्य वस्तु पनि प्रकोपबाट क्षतिग्रस्त भएको छ।

च्याङ सी बाहेक हुपै प्रान्तमा रहेको जल स्टेशनको पानी सतहले पनि नयाँ ऐतिहासिक कीर्तिमान सिर्जना गरेको छ। स्थानीय बाढी प्रतिरोधात्मक संस्थाले आपतकालीन प्रतिकृया चलाएको छ भने सम्बद्ध कर्मचारीहरूले २४ सै घण्टा काम गर्ने गर्दछन्। साथै स्थानीय सरकारले प्रभावित किसानहरूलाई बाढी आउनु अगावै अन्यत्र सारिएकाले सक्दो प्रयासमार्फत बासिन्दाहरूको जनधन सुरक्षालाई प्रत्याभूति दिएको छ। यसका अतिरिक्त हुनान प्रान्तको तोङ थिङ तालको पानीको सतह पनि लगातार रुपमा माथि उठ्दै गएको देखिन्छ।

Facebook Comments