Mon. Oct 28th, 2024

टान निर्वाचन २०२४ : राजेन्द्र प्रसाद सापकोटा समूहको अन्तिम चुनावी कार्यक्रम

रमेश हतुवाली/काठमाण्डू, २०८१ भदौ १५ गते शनिबार। ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)को नयाँ कार्यसमितिको निर्वाचनका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको लोकतान्त्रिक तथा प्रगतिशील समूहको तर्फबाट अन्तिम चुनावी सभा र उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डूको बालुवाटारस्थित एक पार्टी प्यालेसमा आज साँझ आयोजित एक भव्य समारोहमा अध्यक्ष पदका उम्मेदवार सापकोटा लगायत १७ जना उम्मेदवारले मतदाता समक्ष आ-आफ्नो परिचय र चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको थियो ।

अन्तिम चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पदका उम्मेदवार तथा लोकप्रिय पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटाले नेपालको पर्यटन क्षेत्रको पहिचान नै पदमार्ग भएकोले यसलाई जोगाउन अत्यन्त आवश्यक रहेको बताउनुभयो । भएका पदमार्गहरुको विकास र सुरक्षा गर्दै विकासका संरचनाहरु बैकल्पिक ढंगबाट निर्माण गर्नुपर्ने सापकोटाको भनाइ छ । हाल अनलाईन प्रणालीमार्फत टानमा आबद्ध ट्रेकिङ कम्पनीहरुले आफै टिम्स कार्ड जारी गर्न सक्ने उल्लेख गर्नुहुँदै सापकोटाकाले यस व्यवस्थालाई चुस्त दुरुस्त पारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेसम्म पनि प्रचलनमा रहेको २०३५ सालको पर्यटन ऐनलाई विस्थापीत गर्न र नयाँ पर्यटन ऐन छिटो लागू गर्न आफ्नो समूह सक्रियताका साथ लाग्ने सापकोटाले बताउनु भएको छ । आफ्नो समूह सबै क्षेत्र र वर्गका व्यक्तिहरुसँग समन्वय गरी काम गर्न सक्ने सामूहिक भावनाले युक्त भएको हुनाले पनि निर्वाचनमा विजयी हुने सापकोटाको भनाइ छ ।

समारोहमा महासचिव पदका उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीले युवा पुस्तालाई नेपालमा पदयात्रा पर्यटनको महत्व छ र यसका माध्यमबाट स्वदेशमै रोजगारी प्राप्त हुनेछ भनेर बुझाउन माध्यमिक शिक्षादेखि नै पदयात्रा पर्यटनको अध्ययन गराउने व्यवस्था लागू गराउन आफ्नो समूहले पहल गर्ने बताउनु भयो ।

राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको समूहका अन्य उम्मेदवारहरुमा कर्मा शेर्पा वरिष्ठ उपाध्यक्ष, विष्णु प्रसाद लम्साल प्रथम उपाध्यक्ष, सनम शेर्पा द्वितीय उपाध्यक्ष, रिन्जी जाङबु शेर्पा सचिव, गौतम राज वाग्ले कोषाध्यक्ष, लाक्पा तेम्बा शेर्पा सहकोषाध्यक्ष रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवन बहादुर खड्का, दावा ग्यालजेन लामा, छप्ते लामा र पवित्रा तामाङले उम्मेदवारी दिनुभएको छ ।

टानको नयाँ कार्यसमितिको निर्वाचन भोलि भदौ १७ गते सोमबार हुने भएको छ ।

Facebook Comments