Fri. Oct 18th, 2024

इथियोपियामा पहिरोमा परी एक सय ४६ जनाको मृत्यु   

 इथियोपिया, २०८१ साउन ८ गते मंगलबार । दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको मङ्गलबार स्थानीय अधिकारीले बताएका छन् ।

अधिकारीले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

अधिकारीका अनुसार दक्षिण इथियोपियाको पहाडी क्षेत्रमा भएको भारी वर्षाले सोमबारको पहिरो निम्त्याएको हो ।

“इथियोपियाको गोफा क्षेत्रको गेजे-गोफा जिल्लामा गएको पहिरोमा परी मृत्युु हुनेको सङख्या १४६ पुगेको छ”, गोफा क्षेत्र सञ्चार मामिला विभागले स्थानीय अधिकारी हाब्तामु फेटेनालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिरोमा परी ज्यान गुमाएका ९६ जना पुरुष र ५० जना महिलाको शव फेला परेको जानकारी दिदै खोजी तथा उद्वार कार्य जारी रहेको हाब्तामुले बताउनुभयो ।

सरकारी सञ्चार माध्यम ‘फाना ब्रोडकास्टिङ कर्पोरेट’ ले सार्वजनिक गरेका तस्बिरहरूमा सयौं मानिसहरू प्रभावित भएको पहिरोको विनाशकारी दृश्य प्रसारण गरिएको छ ।

दक्षिण इथियोपियामा अप्रिल र मे महिनामा भएको मौसमी वर्षाले निम्त्याएको बाढीपहिरोले कयौँ मानिसहरुलाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यलय ओसिएएचएले जनाएको छ ।  एएफपी

Facebook Comments