Fri. Oct 18th, 2024

प्राकृतिक विपद्बाट प्रभावित सबै जिल्लामा राहतको प्रबन्ध भएको छ : गृहमन्त्री लेखक   

काठमाण्डू, २०८१ साउन ८ गते मंगलबार । गृहमन्त्री रमेश लेखकले सरकारले प्राकृतिक विपत्बाट प्रभावित सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले क्रियाशील रुपमा मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य गरिरहेको बताउनुभएको हो । उहाँले मनसुनबाट ७७ जिल्ला नै प्रभावित भएका उल्लेख गर्दै सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताउनुभयो ।
मनसुनजन्य विपद्बाट भएका क्षति र प्रतिकार्यमा मन्त्रालयले गरिरहेको कार्यबारे जानकारी दिँदै सरकारले आफ्नो स्रोत र साधन परिचालन गरी प्रतिकार्यलाई प्रभावकारी बनाइरहेको उहाँले बताउनुभयो । “मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१, बमोजिम तीनवटै तहका संयन्त्र र गृह मन्त्रालयबाट विपद्का घटनामा तत्काल उद्धार, राहत एवं प्रतिकार्यका कार्यहरु भइरहेका छन्”, गृहमन्त्री लेखकले भन्नुभयो, “विपद् व्यवस्थापनमा सबै सुरक्षा निकाय, विभिन्न मन्त्रालय तथा विभाग बीचको समन्वयमा केन्द्रीय ‘कमाण्ड पोष्ट’ले काम गरिरहेको छ । ”

एक सय ३० जनाको मृत्यु, ४८ बेपत्ता  

गृहमन्त्रीले गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य विपद्का घटनामा परी एक सय ३० जनाको मृत्यु भएको, एक सय ४४ जना घाइते र ४८ जना बेपत्ता भएका जानकारी दिनुभयो । यसैगरी,चार हजार घरपरिवार विस्थापित भएका, एक हजार ५९ परिवारलाई सुरक्षित आश्रयस्थलमा सारिएको पाँच सय ९४ पशुुचौपाया मरेका तथा दुई सय ३१ घर र ८४ गोठमा क्षति पुगेको बताउनुभयो ।

वर्षाजन्य विपद्बाट ४३ वटा साना ठूला पुल बगेका, दुई वटा सरकारी भवन भत्किएका,े खोज र उद्धारका लागि नेपाल प्रहरीबाट सात हजार एक सय ६९ जना र सशस्त्र प्रहरी बल नेपालबाट तीन हजार नौ सय ५६ जना परिचालन भएका उहाँले जानकारी दिनुभयो । गृहमन्त्रीका अनुसार नौ सय ८९ जनाकाने सकुशल उद्धार भएको छ । विपद्जन्य घटनामा ज्यान गुमाएका एक सय ३० जनामध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छभने बाँकी परिवार राहत पाउने प्रक्रियामा छन् ।

त्यसैगरी ४८ जना बेपत्ता छन् । सरकारले बेपत्ता भएकालाई १० दिनभित्र पत्ता नलागे मृतक सरह राहत उपलब्ध गराउने निर्णयअनुसार उनीहरुका परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने प्रक्रिया प्रारम्भ भएको गृहमन्त्री लेखकले सदनलाई जानकारी दिनुभयो । दैवी विपत्तिमा घाइते भएका एक सय ४४ जनामध्ये पाँच जना उपचारत छन् ।

सिमलताल पहिरोः बेपत्ता बस खोजिँदै 

गृहमन्त्री लेखकले गत असार २८ गते चितवन जिल्लाको सिमलताल पहिरोमा परी बेपत्ता भएका दुई वटा बसका ६२ जना यात्रीमध्ये २४ जनाको शव फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार १९ जनाको पहिचान भई आफन्तले शव बुझेका छन् । पाँच शवको पहिचान हुन बाँकी छ । हराइरहेका अन्य ४३ जनाको खोजी जारी छ । उहाँले भारतीय र नेपाली टोलीबाट संयुक्त रुपमा खोजी भइहेको बताउनुभयो ।

“आज बिहानदेखि सिमततालदेखि घुमाउने केराबारीसम्म खोज पुनः सुरु गरिएको छ । खोजमा तीन सय ६८ सुरक्षाकर्मी खटिएका छन्”, गृहमन्त्री लेखकले भन्नुभयो ।  रासस

Facebook Comments