Sat. Sep 21st, 2024

प्रधानमन्त्री मोदीले जुन ९ मा तेस्रो कार्यकालका लागि शपथ लिने सम्भावना   

प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ९ मा लगातार तेस्रो कार्यकालका लागि शपथ लिने सम्भावना

नयाँदिल्ली, २२०८१ जेठ २४ गते बिहीबार । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ९ मा लगातार तेस्रो कार्यकालका लागि शपथ लिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

जुन ४ मा घोषित लोकसभा चुनावको नतिजामा भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले लगातार तेस्रो पटक सत्ता हासिल गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोह जुन ९ को साँझ ६ बजे हुने अनुमान गरिएको छ ।

यसअघि प्रधानमन्त्री मोदीको नेतृत्वमा नयाँ एनडिए सरकारको शपथ ग्रहण समारोह शनिबार हुने अनुमान गरिएको थियो । शपथ ग्रहण समारोहको मितिबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भएको छैन ।

राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका दलका नेताहरूले बुधबार बैठक गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो नेताका रूपमा चुनेका छन् । पछि प्रधानमन्त्री मोदीले विकसित भारत निर्माणका लागि एनडिएले काम गर्ने बताउनुभयो ।

प्रधानमन्त्री मोदीले बुधबार ट्विटमा “हाम्रा मूल्यवान् एनडिए साझेदारसँग भेटवार्ता भएको छ । हाम्रो गठबन्धनले राष्ट्रिय प्रगतिलाई अगाडि बढाउने छ र क्षेत्रीय आकांक्षाहरू पूरा गर्नेछ”, मोदीले बुधबार ट्विट गर्दै भन्नुभयो, “हामी भारतका एक अर्ब ४० करोड जनताको सेवा र विकसित भारत निर्माण गर्ने दिशामा काम गर्नेछौँ ।” एएनआई

Facebook Comments