Sun. Sep 22nd, 2024

स्वच्छ पानी पिउने अधिकारको संरक्षण गर्नुपर्छ : खानेपानीमन्त्री राई   

मोरङ, २०८१ जेठ १८ गते शुक्रबार । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ पानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

मोरङको टङ्कीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्था बूढीगङ्गा-३ नेमुवामा निर्मित खानेपानी आयोजनाको उद्घाटन गर्दै उहाँले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार पिउनेपानीको समस्या हल गर्दै जाने बताउनुभयो । त्यसका लागि नीति बनाई तीन तहको सरकारबाट अलग अलग नभएर संयुक्त रुपमा एउटै योजना सञ्चालन गर्नुपर्ने जरुरी रहेको धारणा राख्नुभयो ।

उहाँले बजेट निर्माणको क्रममा विकासमा पहिलो प्राथमिकता खानेपानीलाई दिनुपर्ने चर्चा गर्दै प्रदेश र सङ्घले निर्माण गरिरहेका योजना सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले पानीको स्रोत सुक्दै गएको अवस्थामा सबैले तराई पहाडमा पानी पुनःभरण गर्न आग्रह गर्नुभयो ।

सामुदायिक संस्थाका अध्यक्ष नवराज विष्ट, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदारलगायतले जनसङ्ख्या वृद्धिअनुसार खानेपानी आवश्यकता टड्कारो रहेको धारणा राख्नुभयो ।

टङ्कीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा रु २७ करोड ५५ लाख ४० हजार नौ सय २८ लागतमा निर्मित आयोजनाको आज उहाँले उद्घाटन गर्नुभएको हो । उक्त खानेपानी आयोजनामा चार सय ५० घनमिटरको दुई ट्याङी र एक सय ६६ किलोमिटर पाइप विस्तारबाट सो गाउँपालिका-१,२,३,४,५ र ६ का दुई हजार ७१ घरधुरी लाभान्वित भएका छन् ।  रासस

Facebook Comments