Sun. Sep 22nd, 2024

गणतन्त्र प्राप्तिपछि मुलुक आर्थिक समृद्धिको बाटोमाः सभापति खतिवडा   

काठमाण्डू, २०८१ जेठ १८ गते शुक्रबार । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गणतन्त्र प्राप्तिपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।

गणतन्त्र दिवस-२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले गणतन्त्रपछि आर्थिक समृद्धिलगायत कामलाई प्रदर्शित तस्बिरले चित्रण गरेको उल्लेख गर्नुभयो ।

“गणतन्त्र प्राप्तिपछिको अवधिका उपलब्धि हेर्दा नेपालमा यो व्यवस्थामा काम भएन, आर्थिक समृद्धिले गति लिएन भन्ने भाष्यलाई राससमा प्रदर्शित तस्बिरले चिरेको छ”, सभापति खतिवडाले भन्नुभयो, “हामी नेतृत्व वर्गमा रहेका राजनीतिज्ञहरु भाषण गर्न र जनतासँग जान मात्रै खुसी हुनेहरुका लागि एउटा फोटोले कति महत्वपूर्ण काम गर्दोरहेछ भन्ने प्रदर्शित तस्बिरले प्रमाणि गरेको छ ।”

गणतन्त्रमा काम भएन भन्नेलाई जवाफ दिन पनि राससमा प्रदर्शित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको भौतिक प्रगतिको प्रतिनिधि चित्रले चित्रित गरेको उहाँले उल्लेख गर्नुभयो ।

सभापति खतिवडाले अहिलेको व्यवस्थामा सेनादेखि अन्य ठाउँमा महिलाको उल्लेख्य सहभागिता भएको तस्बिरमा नेपालको सबैभन्दा अग्लो ठाउँमा नेपाल टेलिकमको चौथो पुस्ताको सेवा ‘फोरजी’ पुगेको र ठूला पूर्वाधारका आयोजना सम्पन्न भएको तस्बिर प्रदर्शनीले झल्काएको उल्लेख गर्नुभयो ।

“पाँचथरदेखि दार्चुलासम्म सडक, ठूला अस्पताललगायत विषयले हामीले दुई/चार घण्टा गर्ने भाषणभन्दा यहाँ प्रदर्शित ९५ वटा फोटाले हामीलाई ज्ञान प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “बोलेर होइन काम गरेर देखाउने अवसर पनि प्रदर्शनीले दिएको छ । आर्थिक समृद्धिको बाटोमा मुलुक कसरी अगाडि बढेको छ भन्ने सन्देश दिएको छ, यसका लागि राससलाई म धेरै-धेरै धन्यवाद दिन चाहन्छु ।”

उहाँले आर्थिक समृद्धिको महत्वपूर्ण आधार भौतिक पूर्वाधारको क्षेत्रमा के कस्ता उपलब्धि भएका छन् भन्नेबारे एकपटक फोटो प्रदर्शनी अवलोकन गरिदिन पनि राजनीतिक दलका नेताहरुलाई अनुरोध गर्नुभयो । “अहिलेको अवस्थामा निराशा हैन आशाका किरणहरु पनि नेपालमा छन् भन्ने फोटो प्रदर्शनीले देखाएको छ”, उहाँले भन्नुभयो, “द्रूत मार्गको प्रगति, सडक सञ्जाल, सिक्टा, सुनकोशी मरिन डाइभर्सन आयोजनाजस्ता ठूला आयोजना मुलुकका लागि ठूलो उपलब्धि हो । जलविद्युत्, वैकल्पिक ऊर्जाआदि क्षेत्रमा भएको प्रगतिलाई पनि उदाहरण दिनसकिन्छ”, सभापति खतिवडाले भन्नुभयो ।

सभापति खतिवडालाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायतले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराउनुभएको थियो ।

यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पूँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्र समेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।

वि.सं. २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाण्डू-मधेस दू्रतमार्ग, थानकोट-नागढुङ्गा सुरुङमार्ग, सुनकोशी-मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्बिर समावेश छन् । रासस

Facebook Comments