२०८३ आश्विन ५, सोमवार

कोरोना सङ्क्रमितको अवस्था सामान्य

       

काठमाडौं, २०७६ चैत २८ गते शुक्रबार

कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग लिएर आएका हुन् भन्ने जानकारी लिन बसेका थिए ।
अस्पतालको दुई तलामाथि आइसोलेसन वार्ड राखिएको छ, जहाँ दुई जना सङ्क्रमित छन् । सङ्क्रमितबाहेक कोरोनाको आशङ्कामा अन्य नौ जना कोरोनाको लक्षण भएका बिरामी उपचाररत छन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला सहितको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी खटिएका छन् । सिफ्ट अनुसार स्वास्थ्यकर्मीले सङ्क्रमित तथा आइसोलेसनमा बसेका बिरामीको उपचार गर्नुपर्ने हुन्छ ।
कसरी हुन्छ उपचार ?
टेकुस्थित सरुवा रोग अस्पताल हरेक सरुवा रोगको उपचार गर्नुपर्ने देशकै केन्द्रीय अस्पताल भएकाले सरुवा रोगसम्बन्धी बिरामी यहाँ आइपुग्छन् । यद्यपि अहिले कोरोनाको भयमा अन्य बिरामी त्यति धेरै आएका छैनन् । कोरोना सङ्क्रमित व्यक्तिलाई छुट्टाछुट्टै कोठामा राखिएको छ । होटलको कोठामा जे जस्तो सुविधा हुन्छ त्यही सुविधा दिएर सङ्क्रमित व्यक्तिलाई राखिएको छ । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिले आइसोलेसन वार्डमा केही सुविधा नभएको बताउनुभयो । कुनै सुविधा नभएका कारण बिरामी भाग्ने, डिप्रेसनमा जानसक्ने भएकाले आफू निर्देशक भएर आइसकेपछि अहिले टिभी, इन्टरनेट, टेलिफोन लगायतका सुविधा राखिएको जानकारी उहाँले दिनुभयो ।

सङ्क्रमितको गतिविधि निगरानी गर्न निर्देशक डा. राजभण्डारीको मोबाइलमै व्यवस्था गरिएको छ । मोबाइलबाट उनीहरू के गरिरहेका छन् भन्ने पूरै गतिविधि हेर्न सकिन्छ । सङ्क्रमित तथा आशङ्कित व्यक्तिहरूका लागि उपचारमा खटिनुभएका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले सङ्क्रमितको लाक्षणिक आधारमा उपचार गरिने बताउनुभयो । हालसम्म कोरोनाको कुनै औषधि आइसकेको छैन, उहाँले भन्नुभयो, त्यसैले उनीहरूलाई कस्तो लक्षण भइरहेको छ, त्यही आधारमा उपचार गर्ने गरिन्छ । सङ्क्रमितलाई फोन तथा बाहिरबाट सोधिन्छ, कस्तो अवस्था छ, साह्रो गाह्रो अवस्था के छ, कसरी बसिरहेका छन् भन्ने विषयमा विस्तृत विवरण लिइन्छ । उनीहरूको भनाइ अनुसार उपचार हुन्छ ।

डा. बास्तोलाका अनुसार उनीहरू सामान्य अवस्थामा छन् । हालसम्म उनीहरूलाई केही भएको छैन । खाना खान, हिँड्डुल गर्न सक्ने सामान्य अवस्था छ । केही असजिलो महसुस भइहाल्यो भने उपचारमा खटिएका नर्स तथा चिकित्सक व्यक्तिगत सुरक्षा कवज (पीपीई) लगाएर पुगिहाल्छन् र परीक्षण सुरु गर्छन् । उनीहरूको स्वाब लिँदा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष भेट
हुन्छ । अहिले राम्रोसँग बसिरहेका छन् । तीबाहेक आइसोलेसन वार्डमा भएका अन्य बिरामीको अवस्था पनि सामान्य रहेको छ ।

लक्जरी सुविधा
कोरोना सङ्क्रमित व्यक्तिलाई अहिले लक्जरी सुविधा दिएर राखिएको छ । अस्पतालले सङ्क्रमितको खानेकुरादेखि लिएर मिनरल पानीको व्यवस्था गरेको छ । उनीहरूले नुहाउने, शौच गर्ने बाथरुम छुट्टाछुट्टै हुन्छ । उनीहरूको दिसा, पिसाब छुट्टै राखेर डिस्पोजल गर्नुपर्ने भएकाले शौचालयको छुट्टै व्यवस्था गरिएको हो । दिसा, पिसाब, पसिना, थुकबाट अन्य व्यक्तिलाई कोरोना सर्ने भएकाले यस्तो विशेष व्यवस्था गरिएको हो ।

हाल सङ्क्रमितको सङ्ख्या न्यून भएकाले पनि सङ्क्रमितको व्यवस्थापन र उपचार राम्रो गरिएको छ । यदि महामारीको रूपमा कोरोना भित्रियो भने उपचारमा समस्या हुनसक्छ । आइसोलेसन वार्डमा अन्य व्यक्तिलाई जान प्रतिबन्ध लगाइएको छ । रोग अन्य व्यक्तिमा सर्न नपाओस् भनेर यस्तो प्रतिबन्ध गरिएको निर्देशक डा. राजभण्डारीले बताउनुभयो । तर दुःखको विषय सङ्क्रमितको स्वाब परीक्षण चारपटक गर्दा पनि कोरोना रिपोर्ट अझै पोजेटिभ देखिएको छ । पोजेटिभ रिपोर्ट देखुन्जेलसम्म बिरामीलाई डिस्चार्ज गर्न पाइँदैन । रिपोर्ट नेगेटिभ देखिए पनि चिकित्सकहरूको निगरानीमा राखेर घरमा पनि छुट्टै बस्नुपर्ने हुन्छ ।

चीनमा रिपोर्ट नेगेटिभ आएको दुई हप्तापछि पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकाले पुनः कोरोना देखिन सक्छ भनेर उनीहरू छुट्टै बस्नुपर्ने हुन्छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments