शेयर बजार निरन्तर उकालो
काठमाण्डू, २०८० माघ १६ गते मंगलबार । शेयर बजार परिसूचक निरन्तर तेस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक आज १४.८८ अंक बढेर २११९.६१ विन्दुमा पुगेको छ । नेप्से निरन्तर उकालो लागेपछि कारोबार रकम पनि बढ्दै गएको छ । हिजो ४ अर्बको कारोबार भएकोमा आज ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मिड सोलु हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७५ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, ङादी ग्रुप पावरको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम करिब २१ करोड पुगेको छ ।
१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ । यसै गरी होटल तथा पर्यटन, जलविद्युत् र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बैंकिङ्ग, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक भने आज घटेको छ ।