Mon. Nov 25th, 2024

एआईबीडीको कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित

मोरिसस, २०८० असोज १७ गते बुधबार । एआईबीडीको २१ औँ साधारण सभा मोरिससको  वालाक्भामा सम्पन्न भएको छ । २  अक्टोबरदेखि ४ अक्टोबरसम्म सञ्चालित ४८ औँ वार्षिक भेला तथा २१ औँ साधरणसभाले  भारतलाई आगामी दुई वर्षका लागि सभापति र कम्बोडियालाई उपसभापतिमा  निर्वाचित गरेको छ ।

यसैगरी एआईबीडीको कार्यकारिणी समितिमा थाइल्याण्ड अध्यक्ष र नेपाल उपाध्यक्षमा निर्वाचित भएको छ । एआईबीडीको कार्यकारिणी समितिमा १० वटा राष्ट्रहरू सदस्य रहने प्रावधान छ । नेपाल सहित फ्रान्स, कम्बोडिया, कोरिया भियतनाम, मलेसिया, श्रीलङ्का, थाइल्याण्ड कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।

एआईबीडी सन् १९७७ मा स्थापित एसिया प्यासिफिक क्षेत्रको  प्रसारण क्षेत्रको विकास र विस्तारमा विशेष भूमिका खेल्दै आएको एक अन्तर्राष्ट्रिय संस्था हो । यसले स्थापनाकालदेखि  प्रसारणको क्षेत्रीय नीति, विश्वव्यापी रुपमा प्रसारण सम्बन्धी चुनौतीहरूको जानकारी, साधन स्रोतको विकास, मिडिया उद्योगमा नवीनतम प्रयोग तथा सूचना प्रविधिको उच्चतम प्रयोग तथा प्रसारण सामाग्री उत्पादन र प्रसारणको  सम्बन्धमा सदस्य राष्ट्रहरूलाई सघाउँदै आएको छ । हाल एआईबीडीमा  ४४ राष्ट्रहरू  सदस्य रहेका छन् । यसको केन्द्रीय कार्यालय मलेसियामा रहेको छ ।

सन् १९७७ देखि नै रेडियो नेपाल र नेपाल टेलिभिजन एआइबीडीको संस्थापक सदस्य रहेका छन् । यस अघिको कार्यकालमा  रेडियो नेपाल कार्यकारिणी सदस्यमा रहेको थियो भने अबका दुई वर्ष नेपाल टेलिभिजनले उपाध्यक्षको रूपमा कार्यकारिणी समितिमा कार्य गर्ने छ । २१ औँ साधारणसभामा  नेपालको तर्फबाट रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी  र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले प्रतिनिधित्व गर्नुभएको थियो । एआईबीडी को सचिवालय निर्देशकका रूपमा मलेसिया की मिस फिलोमेना कार्यरत हुनुहुन्छ । रेडियो नेपाल

Facebook Comments