‘सहमति पालना नभएकाले सरकारबाट बाहिरियौ’
काठमाण्डू, २०७९ फागुन १५ गते सोमबार । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि (यही फागुन १३ गते) सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेले आज बसेको सचिवालय बैठकमा सरकारबाट अलग हुने निर्णय गरेको छ ।
पुस १० गते सरकार गठन गर्दा भएको सहमति पालना नभएको जनाउँदै सरकारबाट बाहिरने निर्णय गरेको बैठकपछि आयोजित पत्रकारसम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री समेत रहनु भएका पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले सरकारमा रहेर काम गर्ने सोच रहेपनि प्रधानमन्त्रीबाट एमालेबाट सहभागी मन्त्रीबारे गरिएको पछिल्ला अभिव्यक्ति र व्यवहारले सरकारमा बस्न नसकिएको आरोप लगाउनुभयो ।
सरकार गठन सत्ता पदको बाँडफाँट मात्र नभइ राष्ट्रिय अभिभारासमेत रहेकोले राष्ट्रमा रहेको सामाजिक, राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा गर्नका लागि वर्तमान सरकारमा सहभागी भएको उहाँको भनाइ रहेको थियो । सरकारलाई सफल बनाउन सरकारको नीतिगत प्रथामिकता र न्यूनतम कार्यक्रम सत्तारुढ दलकै सहमतिमा सार्वजनिक गरेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई ग्रहण गरेर अगाडि बढाएको थियो । हामी चाहान्थ्यौ त्यो नीतिगत प्राथमिकता प्रभावकारी रुपमा कार्यान्वयन होस् र सरकार गठनका निम्ति खासगरी पुस १० दुई दलबीचमा भएको सहमति अनुसार नै अघि बढ्छ भन्ने लागेको थियो, तर घटनाक्रम त्यस अनुसार अगाडि बढेन ।”
गत पुस १० गते प्रधानमन्त्री दाहालको नेतृत्वमा गठन भएको सरकारमा एमाले सहभागी थियो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारबाट बाहिरिने निर्णय गर्दै प्रधामन्त्री पुष्पकमल ‘दाहाल प्रचण्ड’ लाई राजीनामा बुझाइसकेको छ । रासस