भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाण्डौं, २०७९ पुस ११ गते सोमबार । नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यसअघि भएका सबै सकारात्मक कामलाई आत्मसात् र त्यसलाई निरन्तरता दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उहाँले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसनु र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामीले राजनीतिक परिवर्तन ग¥यौँ, जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ । राजनीतिक अधिकारलाई माध्यम बनाएर जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ । जनताले आफ्नो जीवन परिवर्तन भएको अनुभूति गराउन सक्नुपर्छ”, उहाँले भन्नुभयो ।
जनताको जीवनमा परिवर्तन हुने गरी स्वास्थ्य शिक्षा, रोजगारी खाद्यान्न, आवास, खानेपानी सडक, बिजुली उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सामाजिक आर्थिक संरचनाको गुणात्मक फड्को मन्त्रालयको निर्णायक भूमिका रहने भएकाले त्यस दिशामा स्पष्ट साथ अघि बढ्ने बताउनुभयो । सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिनुभयो । उहाँले मन्त्रालयका काम गर्न भनसुन गर्ने तथा पैसा खुवाउनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“समयको महत्वलाई बुझेर मन्त्रालयको कामलाई गुणात्मक दिनुपर्छ, नीतिगत सुधार गरेर कामकारबाहीलाई छिटो बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “कर्मचारीले कुनै चाकडी गर्नु पर्दैन, राम्रो काम गर्नेलाई पुरस्कृत गरिन्छ ।” राष्ट्रिय स्वाधीनताको रक्षा र सुशासन प्रवद्र्धन गरी राष्ट्रिय समृद्धिको यात्रामा अगाडि बढ्ने जनाउँदै उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासनलाई प्रभावकारी बनाइने विश्वास दिलाउनुभयो । भ्रष्टाचार र पैसाका लागि हुने अवाञ्छित गतिविधि गर्ने दिन सकिएको उहाँको भनाइ छ । “भ्रष्टाचार गर्नेहरु वा पैसालाई केन्द्रमा राख्नेले मन्त्रालयलाई कब्जामा लिन्छु भन्ने दिन गए”, उहाँले भन्नुभयो ।
पदबहालीपछि उपप्रधानमन्त्री श्रेष्ठ स्वदेशमा उत्पादन भएका सवारी साधनलाई दर्ताको सहजीकरण गर्ने र सार्वजनिक सवारी व्यवस्थापनसम्बन्धी कार्यदल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँलाई मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देललगायत मन्त्रालयका उच्चअधिकारीले स्वागत गर्नुभएको थियो । रासस