Wed. Jan 15th, 2025

विकासको बागडोर सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ   

फायल फोटो

काठमाण्डौं, २०७९ पुस ११ गते सोमबार । लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकामा विकासको बागडोर सम्हाल्न सिंहदरबार प्रवेश गर्नुभएको छ । हाल राष्ट्रियसभा सदस्यका रुपमा रहनुभएका उहाँको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रुपमा गोरखाको सिरानचोक गाउँपालिका-८ जौवारी भएको हो ।

उहाँले वि.सं. २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । २०४२ सालमा नेकपा (चौम)को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र)का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेता हुनुहुन्थ्यो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ता पनि हुनुहुन्थ्यो । उहाँ हाल नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

संविधानसभा सदस्यसमेत रहिसक्नुभएका श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित हुनुभएको हो । उहाँले उपप्रधान तथा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँका विभिन्न कृति र लेखहरु प्रकाशित छन् । वि.सं. २०३३, २०३६ र २०४२ सालमा पटकपटक उहाँले जेलजीवन बिताउनुभएको छ । ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा समेत एउटा सन्तुलित समाधानकर्ता वा संयोजन गर्ने कुशल संयोजकका रुपमा उहाँ सक्रिय हुनुभयो ।

तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उहाँको एकाएक चर्चा भएको थियो । वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरुबीच भएको १२ बुँदे सहमति गराउनमा उहाँले खेलेको कुशल संयोजनकारी भूमिकाले उहाँलाई आन्दोलनकारीबीच थप चर्चामा पु¥याएको थियो ।

अठार वर्ष भूमिगत रहनुभएका श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक हुनुभयो । उहाँ केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिक पत्रिकाका सम्पादकका रुपमा काम गर्नुभयो । भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको पेरिफेरिमा नै हुनुहुन्छ । मन्त्री श्रेष्ठले १० कक्षासम्म गाउँकै परोपकार आदर्श माविमा अध्ययन गर्नुभयो । उहाँ पढ्नमा अत्यन्तै तेज हुनुहुन्थ्यो । सधैँ कक्षाका प्रथम हुनुभयो । २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० नं ल्याएर स्कुलको रेकर्ड तोड्नुभएको थियो । पहिला मेडिकल कलेजमा अध्ययन गरेका उनले २०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका गर्नुभएको छ । उहाँले अर्थशास्त्रमा पनि स्नातक गर्नुभएको छ ।

पन्ध्र वर्षमा एसएलसी पास गर्नुभएका उहाँ १६ वर्षको उमेरमा नै जेल परेका थिए । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उहाँलाई पक्राउ गरेर केन्द्रीय कारागाारमा राखिएको थियो । उहाँ दोस्रोपटक ०३६ सालमा पनि गोरखामा जेल पर्नुभयो । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ पर्नुभयो । मन्त्री श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिनुभएको थियो । २०४७ सालमा मोटो मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनका बीचमा एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य रहनुभयो । एकता भएपछि २०४८ सालमा एकता महाधिवेशनबाट उहाँ नेकपा (एकता केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुभयो ।  रासस

Facebook Comments