Sat. Nov 23rd, 2024

सरकार गठनको समयसीमा आज सकिने, गठबन्धनको आजको वैठक निर्णायक हुने सम्भवना

काठमाण्डौं, २०७९ पुस १० गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुभएको एक साताको समयसीमा आज आइतबार सकिँदै छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले पुस ३ गते दलहरूलाई प्रधानमन्त्री नियुक्त गर्न दिनुभएको समय आज साँझ ५ बजे सकिँदै छ ।

राष्ट्रपतिले प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिका लागि गत शुक्रबार आह्वान गर्नुभएको थियो । नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिनुभएको समयसीमा सकिन लाग्दा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा छन् ।

यसैबीच शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठक आइतबार बिहान फेरि बस्ने गरी सकिएको छ । निर्वाचन सम्पन्न भएपछि शनिबार बसेको पाँचदलीय गठबन्धनका शीर्षनेताहरूको बैठकले निर्वाचन परिणाम र आगामी दिशाबारे छलफल गरेको र थप छलफल आइतबार बिहान गर्ने गरी टुङ्गिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

“निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबारे गम्भीररूपमा छलफल भएको छ र आगामी दिनमा कसरी जाने भन्नेबारे पनि छलफल भएको छ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ”, मन्त्री कार्कीले भन्नुभयो ।

शनिबार मुख्यगरी अहिलेको राजनीतिक परिस्थीतिबारे छलफल गरिएको उहाँको भनाइ छ । अब बन्ने सरकारमा गठबन्धनले निरन्तरता पाउने पनि कार्कीले बताउनुभयो । “अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिलेको जनताको आकाङ्क्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ”, सञ्चारमन्त्री कार्कीले भन्नुभयो ।

रेडियो नेपालका अनुसार सञ्चारमन्त्री कार्कीले संवैधानिक बाध्यताअनुसार आइतबारसम्ममा सरकार गठनका लागि दाबी गर्नुपर्ने भएकाले गठबन्धनका शीर्ष नेताहरू त्यही तयारीसाथ सहमति निर्माण गर्नेतर्फ केन्द्रित हुनुभएको बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments