Mon. Nov 18th, 2024

बझाङमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

रमेश केसी/बझाङ ।  बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा-२ खेतकोट जाँदै गरेको सु.प.प्र. ०१-००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो ।

जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो । उहाँका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाइते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो ।

मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  रासस

Facebook Comments