Tue. Dec 24th, 2024

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा खड्गे निर्वाचित

भारतीय कंग्रेसका नवनिर्वाचत अध्यक्ष मल्लिकार्जुन खड्गे । फाइल फोटो : बिबिसी हिन्दी

नयाँदिल्ली, २०७९ कात्तिक २ गते बुधबार । भारतको पुरानो राजनीतिक दल भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित हुनुभएको छ ।

बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार  ८० वर्षीय खड्गे ७८९७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ६६ वर्षीय शशि थरूरले १०७२ मत मत प्राप्त गर्नुभएको भारतीय सञ्चार एजेन्सी एएनआईले जनाएको छ । खसेकामध्ये ४ सय १६ मत बदर भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

खड्गेका प्रतिद्वन्दी थरूरले हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिनुभएको छ तर मतपरिणाम नआउँदै उहाँले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउनु भएको थियो ।

खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । गान्धी परिवार बाहिरका भए पनि गान्धी परिवारको सहयोगमै उहाँले जित हासिल गर्नुभएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नुहुनेछ । उहाँले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेर चुनाव जित्नुभएको हो ।

कर्नाटकाका दलित समुदायका खड्गे लामो समयदेखि राजनीतिकमा आबद्ध हुनुहुन्छ । हाल उहाँ भारतको माथिल्लो सदन राज्य सभाका सदस्य हुनुहुन्छ । कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो । सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हाल्नुभएको थियो । गान्धी परिवारको विशेष पकड रहेको कंग्रेसमा सोनिया लगातार २०१७ सम्म अध्यक्ष रहनुभयो । त्यसपछि उहाँका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिनु भयो ।

सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कंग्रेसले सन् २०१९ को आमचुनाव पनि हारेपछि राहुलले राजीनामा दिनुभएको थियो । राहुलले राजीनामा दिएपछि सोनिया फेरि कंग्रेसको अध्यक्ष बन्नुभएको थियो । एजेन्सी

Facebook Comments