Mon. Apr 29th, 2024

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्दै सरकार

काठमाण्डौं,  २०७९ असोज ६ गते बिहीबार । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको छ । उक्त अध्ययनका लागि राजस्व सचिवको नेतृत्वमा एक समिति गठन गरी अध्ययन सुरु गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । यस समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थबाट प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ ।

नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन सुरु गरिएको र यसका लागि राजस्व सचिवको नेतृत्वमा गठन भएको समितिले खाका बनाउने अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । आज नाडा एक्स्पो-२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सरोकारवालाको सुझाव लिएर कार्यान्वयनमा जाने बताउनु भयो ।

अब नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनुपर्ने भन्दै नाडा समेत यसमा तयार हुनुपर्ने अर्थमन्त्री शर्माले  सुझाव दिनुभएको छ । अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जानुपर्ने आवश्यकता अर्थमन्त्री शर्माले औंल्याउनु भयो । यस वर्षको नाडा अटो शो विद्युतीय सवारीमा केन्द्रित गरिएको छ ।

Facebook Comments