टर्कीका राष्ट्रपति र राष्ट्रसंघ महासचिवसँग किभमा भेटवार्ता
काठमाण्डौं, २०७९ भदौं ३ गते शुक्रबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस-युक्रेन द्वन्द्वको अन्त्यको उपायबारे छलफल गर्नुभएको छ ।
युक्रेनको पश्चिमी शहर लिभिभमा भएको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीले युक्रेनबाट रुसी सेना फिर्ता गरेपछि मात्र मस्कोसँग शान्ति वार्ताका लागि किभ तयार रहेको बताउनु भएको छ । यसै क्रममा टर्कीका राष्ट्रपति एर्दोगानले रुस युक्रेन वार्ता पुन: सुरु गर्न आवश्यक सहयोग गर्ने बताउनु भएको छ । गत मार्चमा युक्रेन र रुसबीच शान्तिवार्ता भएको थियो । उक्त शान्तिवार्तामा भएको सम्झौतामा आधारित भएर टर्कीले वार्तामा मध्यस्थता गर्न तयार भएको राष्ट्रपति एर्दोगानले भन्नुभएको छ ।
पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले दक्षिणी युक्रेनको जापोरिज्जिया आणविक ऊर्जा प्लान्टमा निशस्त्रीकरण गर्न आह्वान गर्नुभएको छ । उक्त प्लान्ट युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा प्लान्टहरूमध्ये एक हो । यो प्लान्ट मार्च महिनाको सुरुदेखि नै रूसी सैन्य बलहरूको नियन्त्रणमा छ । महासचिव गुटेरेसले रुसले सैन्य उपकरण र कर्मचारीहरू प्लान्टबाट फिर्ता गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
रुस-युक्रेन द्वन्द्व फेब्रुअरी २४ मा सुरु भएको थियो । युक्रेन र रुसबीच शान्तिवार्ता मार्च २९ मा टर्कीको इस्तानबुलमा भएको थियो । (सिन्ह्वा)