नेपालका लागि चीनद्वारा प्रदान गरिएको आपत्कालीन राहत सामग्री काठमाण्डू आइपुग्यो
भिओके समाचार/काठमाण्डू । चीन सरकारले नेपाललाई सहयोगस्वरूप प्रदान गरेको आपत्कालीन राहत सामग्री लिएर चीनको जनमुक्ति सेना (पीएलए) वायु सेनाका दुईवटा वाई-२० ठूला ढुवानी विमान आज बिहान काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

ती विमानमार्फत चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरू उद्धारका लागि आवश्यक उपकरणसहित नेपाल आएका हुन् । राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका चीनका राजदूत महामहिम चाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन तथा संघीय संसद प्रतिनिधिसभाका सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। समारोहमा उपस्थित अतिथिहरूले चिनियाँ उद्धार विशेषज्ञहरूको टोलीलाई स्वागत गर्नुभएको थियो।
चीनको छन्तुस्थित शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका ती दुईवटा विमान करिब तीन घण्टाको यात्रापछि काठमाण्डू आइपुगेका हुन्। विमानहरूले जम्मा ५० टन तौल बराबरका १३,२०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याएका छन्।
राहत सामग्रीमा पाल, कम्बल, स्लिपिङ ब्याग, दीर्घकालसम्म सुरक्षित रहने खाद्य सामग्री (हार्ड ट्याक) तथा प्राथमिक उपचार सामग्रीलगायत आवश्यक सामग्रीहरू समावेश छन्।
चीनबाट आएको उद्धार विशेषज्ञ टोली र आपत्कालीन राहत सामग्रीले हालको विपद् तथा उद्धार कार्यमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

