Sun. Apr 28th, 2024

चिनियाँ कम्पनी ह्वा वे ले ७ जना विद्यार्थीलाई थाइल्यान्ड लैजाँदै

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १ गते बुधबार । विश्व प्रसिद्ध चिनियाँ प्रविधि कम्पनी ह्वा वे ले ‘सिड्स फर द फ्युचर’ (भविष्यका बीउहरू)कार्यक्रममा ७ जना नेपाली विद्यार्थीलाई थाइल्यान्ड लैजाने भएको छ । नेपालभरबाट छनोट भएका विद्यार्थीहरुलाई क्षेत्रीय प्रतिस्पर्धाको लागि बैंकक लैजान लागेको हो ।

चिनियाँ प्रविधि कम्पनी ह्वा वे ले नेपालमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो पटक ‘सिड्स फर द फ्युचर’ कार्यक्रम गरेको हो । सूचना प्रविधि (आईटी)सँग सम्बन्धित स्नातक तहमा अध्ययन गरिरहेका विभिन्न कलेजका विद्यार्थी यस कार्यक्रमका लागि छानिएका छन् ।

ह्वा वे ले बिहीबार ७ जना विद्यार्थीलाई बैंकक लैजान लागेको जानकारी दिएको छ । ह्वा वे नेपालले देशभरबाट २ सय ५६ जना विद्यार्थीबाट ४ जनाको छनोट कमिटीले ७ जना विद्यार्थीलाई बैंकक लैजान छनोट गरेको जनाएको छ ।

अघिल्लो वर्ष ह्वा वे ले अनलाइनबाट १९ जना विद्यार्थीलाई सिड्स फर द फ्युचर कार्यक्रममा सहभागी गराएको थियो । यो वर्ष बैंकक जानुपर्ने भएकाले कम विद्यार्थी छनोट गरिएको ह्वा वे ले जनाएको छ । बैंककमा तालिमसँगै नेपाली विद्यार्थीले आफ्नो सीप प्रस्तुत गर्नेछन् । त्यहाँ उत्कृष्ट भए सिंगापुरको कार्यक्रममा भाग लिन पाउनेछन् । विद्यार्थीहरुको खर्च ह्वा वे ले व्यहोर्ने छ ।

नेपालमा छनोट भएका विद्यार्थीहरुले अगस्ट १९ देखि २७ सम्म बैंककमा विभिन्न तालिमसँगै टेक फर गुड कार्यक्रममा आफ्नो सीप सहित प्रतिस्पर्धा गर्नेछन् । सिड्स फर फ्युचर्स कार्यक्रम २००८ देखि सञ्चालन भए पनि नेपालमा २०२१ मा पहिलो पटक सञ्चालनमा ल्याइएको थियो ।

कार्यक्रमका लागि काठमाडौं विश्वविद्यालयका निर्माण खड्का, मदन भण्डारी मेमोरियल कलेजका वंशज पौडेल, ख्वपः इन्जिनियरिङ कलेजका जतिन भुसाल, पुल्चोक क्याम्पसका रीया बैद्य र नदिका पौडेल, काठमाडौं विश्वविद्यालयका प्रज्ञा मल्लिक र अमृत साइन्स क्याम्पसका अजु तामाङ छनौट हुनुभएको छ ।

छनोट समितिमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशी, प्रो. सुवर्ण शाक्य, प्रो. तिमिला यमी शाक्य र काठमाडौं विश्वविद्यालयका प्रो. मनिस पोखरेल रहनु भएको छ ।

Facebook Comments