रामेछापको लुभु घाटमा बस दुर्घटना, १३ जनाको ज्यान गयो
काठमाण्डौं, २०७९ असार २१ गते मंगलबार । रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं. ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा पर्ने लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ । बिहान ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको हिलेदेवीबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुवाहक बस १० बजेतिर लुभुघाटमा दुर्घटनामा हुँदा २२ जना घाइते भएका छन् ।
उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएका एक महिला र चार जना पुरुषको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो।
लुभुघाटमा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा २६ जना घाइते भएका थिए। दुर्घटनाका गम्भीर घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो। बस ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ।
बस दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुने नौसहित १२ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका ६० वर्षीय ठुला तामाङ, ३६ गर्षीय खड्क बहादुर विक, २२ वर्षीया बिपना तामाङ, ३६ वर्षीया सञ्जु तामाङको मृत्यु भएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो।
त्यसैगरी सुनापति गाउँपालिका वडा नम्बर ४ का २६ वर्षीया सम्रिता तामाङ, काभ्रेको पाँचखाल ८ का १८ वर्षीय सुदिप गजमेर, काभ्रेको मण्डनदेउपुर नगरपालिका-९ का ६० वर्षीया सुभलक्ष्मी मानन्धर, काभ्रेका ४० वर्षीय कुलबहादुर बिक र काभ्रे रोशी गाउँपालिका-४ का कमल तामाङको सनाखत भएको छ। यसैगरी काभ्रेको पाँचखाल नगरपालिका-८ ४० वर्षीय कुलबहादुर विक, सुनापति गाउँपालिका-५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, बुद्ध तामाङ र वडा नम्बर खुल्न बाँकी सुनापति गाउँपालिकाकै नेमा तामाङको सनाखत भएको छ। प्रहरीका अनुसार धुलिखेल अस्पतालमा मृत्यु भएको एक जनाको सनाखत हुन बाँकी छ।
जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए । उनीहरूमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घाइते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । रासस